जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी « Arthapath.com
१३ पुष २०७७, सोमबार

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी



काठमाडौँ । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको जनाएके छ ।अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन ।

उहाँका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एकरदुई साताको तालीम आवश्यकपर्ने उहाँले जानकारी दिनुभयो ।

भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देृशक भट्टराईले बताउनुभयो । उहाँका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उहाँको भनाइ छ । कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उहाँले बताउनुभयो ।

रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको कम्पनीले जनाएको छ ।

रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनकोसमेत अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ । रेल्वेसम्बन्धी ऐन, २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा छ । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।

नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्