सहकारीमा ८८ हजारलाई रोजगार, ४ खर्ब ७८ अर्ब बचत, ४२६ अर्ब लगानी « Arthapath.com
२७ फाल्गुन २०७७, बिहीबार

सहकारीमा ८८ हजारलाई रोजगार, ४ खर्ब ७८ अर्ब बचत, ४२६ अर्ब लगानी



काठमाडौं । नेपालमा सञ्चालनमा रहेका झन्डै ३० हजार सहकारी संघ–संस्थामा ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी पाएको सहकारी विभागको अध्ययन प्रतिवेदनले देखाएको छ । सञ्चालनमा रहेको यी सहकारी संस्थाले करिब ४ खर्ब ७८ अर्ब रुपैयाँ बचत संकलन गरेका छन् भने ४ खर्ब २६ अर्ब २६ करोड रुपैयाँ लगानी गरेका छन् । ‘मुलुकभर रहेका सहकारीमा कुल सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारी विभागले नै मुलुकभर ३४ हजार ८ सय ३७ सहकारी संघ–संस्था रहेको दामवी गरेको भएपनि घटेर २९ हजार ८ सय ८६ रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

यसबाहेक २० वटा विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघ १÷१, ७० वटा जिल्ला सहकारी संघ र २ सय ४१ वटा विषयगत जिल्ला सहकारी संघ क्रियाशील छन् । प्रतिवेदन अनुसार मुलुकभर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थामध्ये संघीय सरकारअन्तर्गत १ सय २५, प्रदेश सरकारअन्तर्गत ६ हजार २ र स्थानीय सरकारअन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था छन् । कुल सहकारीको करिब ८० प्रतिशत स्थानीय सरकार मातहतमा छन् । सहकारी संघ–संस्थामा आवद्ध सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ छ । कुल सदस्यमध्ये महिला सदस्य ५६ र पुरुष सदस्य ४४ प्रतिशत छन् । पुरुष सदस्य संख्याको तुलनामा महिला सदस्य संख्या १२ प्रतिशत बढी हो ।


प्रतिक्रिया दिनुहोस्