लगानी कोष प्रविधिलाई उच्च प्राथमिकतामा राखेर विद्युतिय प्रणालीमा गइसक्यो: कार्यकारी निर्देशक नेपाल « Arthapath.com
८ चैत्र २०७७, आईतवार

लगानी कोष प्रविधिलाई उच्च प्राथमिकतामा राखेर विद्युतिय प्रणालीमा गइसक्यो: कार्यकारी निर्देशक नेपाल



कार्यकारी निर्देशक रमण नेपाल नागरिक लगानी कोष

नागरिक लगानी कोषको पछिल्लो अवस्था कस्तो छ ?

देशमा छरिएर रहेको पुँजीलाई बचत-परिचालनको माध्यमबाट पुँजीबजारको विकासमा योगदान गर्ने उद्देश्यले २०४७ साल चैत ४ गते नागरिक लगानी कोष स्थापना भई आज ३१ औँ वार्षिकोत्सव मनाउने अवस्थामा पुगेको छ । देशको आर्थिक विकासको लागि सर्वसाधारण जनतालाई समेत पुँजीको वचत गर्न प्रोत्साहित गरी लगानीका अवसरहरू बढाउन तथा पुँजीबजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापना भएको कोषले अवकाश कोष संचालन तथा व्यवस्थापन गर्ने, सर्वसाधारण जनतालाई वचत गर्न प्रोत्साहित गरी राष्ट्रिय पुँजीको निर्माण गर्ने र दीर्घकालिन पुँजीको माध्यमबाट लगानीका अवसरहरू बढाई संस्थागत रुपमा पुँजी बजारको विस्तारमा गतिशीलता ल्याउने कार्य गरिरहेको छ । मुलुकको आर्थिक विकासलाई गतिशील बनाउन पुँजी निर्माणको क्षेत्रमा अहम् भूमिका निर्वाह गर्दै आएको कोषले लगानी विविधीकरणको माध्यमबाट राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाहरूमा समेत लगानी गर्दै कोषलाई आर्थिक विकासको केन्द्रमा स्थापित गराउने उद्देश्यका साथ कोष निरन्तर अगाडि बढिरहेको छ। सामाजिक सुरक्षा संस्थाको रुपमा समेत परिपक्व हुँदै गइरहेको कोषले हालै मात्र सर्वसाधारण नागरिक समेत समावेश हुन मिल्ने गरी नागरिक पेन्सन योजना ल्याएको छ । यस कार्यक्रमले सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्नुका साथै राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुर्याउनुका साथै उक्त कार्यक्रमबाट संकलित पुँजी राष्ट्रिय गौरवका परियोजना, उत्पादनशिल क्षेत्र लगायत अन्य महत्वपूर्ण लगानीका क्षेत्रहरूमा परिचालन गरिने भएकोले देशमा रोजगारी सिर्जना गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कोषको खुद कोष मौज्दात रु.१ खर्ब ६४ अर्ब ८८ करोड पुगेको छ भने सो अवधिसम्म कोषले रु.१ खर्ब ६३ अर्ब २१ करोड़ लगानी गर्न सफल भएको छ । यस अवधिमा कोषले रु.३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ८.५४ प्रतिशतले बढी हो ।

कोषको प्रविधि विकासको स्थिति के छ ? विद्युतीय प्रणालीद्वारा हुने भुक्तानीलाई कत्तिकों प्राथमिकतामा राख्नुभएको छ ?

वर्तमान अवस्थामा कोषले नयाँ सफ्टवेयर NLK Web Based Software को विकास कार्यलाई तिब्रताका साथ अगाडि बढाएको छ । निजामती बीमा कोष र शिक्षक बीमा कोष बाहेकका अन्य सबै कार्यक्रमहरूमा यस सफ्टवेयर कार्यान्वयनमा आइसकेको छ भने यस आर्थिक वर्ष भित्र कोषका सम्पूर्ण कार्यक्रममा यो सफ्टवेयर पूर्ण रुपमा लागू हुनेछ । कोषले कर्मचारी बचत वृद्दि अवकाश कोष, उपदान कोष योजना र लगानीकर्ता हिसाब योजनाको भुक्तानी विद्युतीय माध्यमबाट गरिरहेको छ भने सहभागीहरूले आफू नो जुनसुकै बैंकहरूबाट Connect IPs मार्फत विशेष सापटीको साँवा तथा व्याज रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । यस आर्थिक वर्षबाट कोषले शुरु गरेको कार्यक्रम नागरिक पेन्सन योजनामा सहभागी हुन चाहने व्यक्तिहरूले कोषमा उपस्थित नभइकन पनि अनलाइन रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था कोषले गरेको छ । यसका साथै यस कार्यक्रमका सहभागीहरूले Connect IPS लगायत Fonepay मार्फत बचत रकम जम्मा गर्न मिल्ने व्यवस्था कोषले मिलाएको छ ।

कोषको वित्तीय सेवामा अझै सबैको पहुँच पुग्न सकेको छैन । यसको लागि कस्तो रणनीति बनाउनु भएको छ ?

कोषले हालसम्म केन्द्रीय कार्यालय, गण्डकी प्रदेशमा रहेको पोखरा शाखा कार्यालय र प्रदेश नं १ मा रहेको विराटनगर शाखा कार्यालयबाट आफ्नो सेवाहरू प्रवाह गर्दै आएका छन् । कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरू देशका कुना कुनामा छरिएर रहेका छन् । कोषले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा शाखा कार्यालय खोल्नका लागि सम्भाव्यता अध्ययन सम्पन्न गरी घर भाडामा लिने प्रक्रिया अगाडि बढाइसकेको छ । कोषको केन्द्रीय कार्यालयले उपलब्ध गराएका सबै जसो सेवाहरू स्थानीय स्तरमा प्रदान गर्ने कोषको भावी रणनीति रहेको छ । सामाजिक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम र वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्ने लगायत लक्षित वर्गसँग अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्ने कोषको योजना रहेको छ ।

कोषले भर्खरै ल्याएको नयाँ कार्यक्रम नागरिक पेन्सन योजना सर्वसाधारण नागरिकहरूको लागि कत्तिको प्रभावकारी छ ?

कोषले स्वरोजगार एवं वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी नागरिक पेन्सन योजना संचालनमा ल्याएको छ। “उमेरमा कमाऔं, जमाऔ र बुढेशकालमा रमाऔं’ भन्ने नाराका साथ संचालित यस कार्यक्रममा सहभागीहरूले जम्मा गरेको रकमलाई कोषले परिचालन गरी निजहरूले जम्मा गरेको रकम र सो को प्रतिफलबाट उनीहरू ६० वर्ष पुरा भएपछि सामाजिक सुरक्षा सहितको पेन्सन उपलब्ध गराउने लक्ष्य राखिएको छ । सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो वचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले कोषको बचत कार्यक्रमको दायरामा नसमेटिएका नेपाली नागरिकलाई आवद्ध गराई बृहत रुपमा “नागरिक पेन्सन योजना“ संचालन र व्यवस्थापन गर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ । यस कार्यक्रममा आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर–आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । यस अघि कोषले संचालन गर्दै आएको अवकाश कोष कार्यक्रम कर्मचारी बचत वृद्धि योजना अन्तर्गत विभिन्न संगठीत संघ संस्थाका कर्मचारीहरू मात्र सहभागी हुन सक्ने प्रावधान रहेकोमा अब कोषले संचालन गर्न लागेको यस नयाँ कार्यक्रमले देशका कर्मचारी बाहेकका नागरिकलाई पनि समेट्ने भएकोले ठूलो संख्यामा सर्वसाधारणहरू यस कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा कोषले गरेको छ ।

वर्तमान अवस्थामा कोषको चूनौतिहरू के के छन् ?

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ का कारण सम्पूर्ण आर्थिक गतिविधि नै न्यून भएको वर्तमान अवस्थाले कोषलाई पनि असर गरेको छ । लगानीका थप क्षेत्रहरू विस्तार हुन नसक्दा कोषको लगानीको महत्वपूर्ण हिस्सा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा केन्द्रित रहन गएको छ । बजारको व्याजदर अघिल्लो वर्षको तुलनामा न्युन रहन गएकाले कोषको भारित औसत प्रतिफल दरलाई सन्तुलनमा राख्न चुनौति रहेको छ । सहभागीहरूको बचत गर्ने क्षमतामा कमी आएको छ भने कोषले आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउँदै कार्यक्षेत्रको विस्तारमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ ।

कोषको भावी योजना तथा कार्यक्रमहरूको बारेमा संक्षिप्तमा बताइदिनुहुन्छ कि ?

कोषले हालै मात्र नयाँ पञ्चवर्षीय योजना बनाएर अगाडि बढेको छ । हामी सबै नेपाली नागरिकहरूले सहज रुपमा कोषको सामाजिक सुरक्षाको योजनामा आबद्ध हुन तथा कोषका सहभागीहरूले सहज रुपमा सेवा प्राप्त गर्न सकुन् भन्ने चाहना अनुरुप अगाडि बढिरहेका छौं । हामी विद्युतीय प्रणालीमा गइसकेका छौ र प्रविधिलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेका छौं । कोषको सेवामैत्री भवन निर्माण सम्पन्न हुने अन्तिम चरणमा छ । यस आर्थिक वर्षको अन्तिमसम्ममा कोषले आफनो सम्पूर्ण सेवाहरू नयाँ भवनबाट प्रवाह गर्नेछ । यस आर्थिक वर्ष भित्र दुई प्रदेशमा शाखा कार्यालय विस्तार गर्न लागेको कोषले आगामी आर्थिक वर्षभित्र बाँकी दुई प्रदेशमा पनि आफ्नो प्रादेशिक शाखा कार्यालय स्थापना गर्ने योजनाका साथ हामी अगाडि बढिरहेका छौं । कोषमा भएको पुँजीलाई जोखिम र प्रतिफल विश्लेषण गरी आयात प्रतिस्थापन गर्ने वा निर्यातमुखी उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्दै लैजाने लक्ष्य राखिएको छ । यसको अतिरिक्त राष्ट्रिय गौरवको भौतिक संरचना तथा आयोजनाहरूमा लगानी विविधीकरण गर्ने कोषको योजना रहेको छ। यसका साथै पुँजीबजार विकासका लागि बन्दमुखी सामुहिक कोष सञ्चालन गर्ने कोषको योजना रहेको छ । कर्मचारीको क्षमता तथा अनुभवको अध्ययन गरी सोही अनुसारको ग्राहकमैत्री सेवा प्रदान गर्नु नै हाम्रो लक्ष्य रहेको छ । लगानी कोष समाचारपत्रबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्