साउनदेखि अर्को सहकारी बैङ्क सञ्चालनमा आउँदै « Arthapath.com
१२ चैत्र २०७७, बिहीबार

साउनदेखि अर्को सहकारी बैङ्क सञ्चालनमा आउँदै



काठमाडौँ । आगामी साउनदेखि सहकारी बैङ्क सञ्चालनमा आउने भएको छ । सहकारी अभियानले बैङ्क स्थापनाका लागि सहकारी विभागमार्फत राष्ट्र बैङ्कमा निवेदन दिएको छ । राष्ट्र बैङ्कको आशयपत्र प्राप्त भएपछि बैङ्क सञ्चालन अगाडि बढाइने बैङ्क गठनका लागि गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुुभयो, “राष्ट्र बैङ्कमा आशयपत्रका लागि सहकारी विभागमार्फत पत्र पठाएका छौँ, आवश्यक छानबिनपछि आशयपत्र प्राप्त हुनेछ, हामी आगामी साउनदेखि बैङ्क सञ्चालनको तयारीमा छौँ । ” भेलाबाट पारित विनियम तथा कार्ययोजना राष्ट्र बैङ्कमा दर्ताका लागि पठाइएको छ ।
संयोजक भण्डारीका अनुसार प्रस्तावित नेपाल सहकारी बैङ्कको कुल पँुजी पाँच अर्ब रुपियाँ हुनेछ । सुरुमा सेयर पुँजी एक अर्ब ५० करोड रुपियाँ हुनेछ । जारी पुँजी तीन अर्ब छ । सहकारी बैङ्क सञ्चालनका लागि निरन्तर तीन वर्ष नाफा कमाएका कम्तीमा पाँच सय एकवटा सहकारी संस्थाहरूलाई सदस्य बनाउनुपर्छ । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सदस्य रहनुपर्ने लगायतका व्यवस्थाहरू पूरा गरी निवेदन गरिएको भण्डारीको भनाइ छ ।

सहकारी संस्थाहरूलाई हाल बैङ्कहरूले ऋणसमेत दिन छोडेको अवस्थामा सहकारी बैङ्कले सहकारी आन्दोलनलाई नै अघि बढाउने संयोजक भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “खोल्न लागिएको नेपाल सहकारी बैङ्कले सहकारी क्षेत्रमै काम गर्ने हो, लगानी सहकारीमै हुने हो, हाम्रो सबै सर्भिस सहकारीलाई नै हुन्छ, सहकारी क्षेत्रमा उत्पादनलाई फोकस गरेर हामी लगानी गर्छौं । ”
दर्ता गर्न लागिएको सहकारी बैङ्क नेपालमा दोस्रो हुनेछ । यसअघि राष्ट्रिय सहकारी बैङ्क सञ्चालनमा छ । बैङ्क स्थापनाका लागि सात सयभन्दा बढी सहकारी संस्थाबाट सेयर प्रतिबद्धता आइसकेको छ ।

सहकारी विभागका अनुसार देशभर २९ हजार आठ सय सहकारी संस्थाहरू छन् । जसमध्ये १२ हजार २८३ सहकारी संस्था राष्ट्रिय सहकारी बैङ्कमा आबद्ध भएका छन् । सहकारी बैङ्कले सहकारी सङ्घ, संस्थाहरूसँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ । सहकारी बैङ्क उद्घाटन अगावै सात प्रदेशमा गोष्ठीको आयोजना गरिएकाले सदस्य सङ्ख्या अझ थप हुने भण्डारीको भनाइ छ । गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्