भन्सार छलेर ल्याइएको १४ हजारको हार्डवयर सामाग्री बर्दिया प्रहरीद्वारा बरामत
काठमाडौं । सीमा नाकाबाट भन्सार छलेर दैनिक करोडौं मूल्य बराबरका सामान नेपाल भित्रिने गरेको जानेरै सरकारले भन्सार नाकामा कडाइ गर्ने गरेको छ । तर पनि भारी मात्रामा तस्करी रोकिएको छैन । नेपाल राष्ट्र बैंकको एउटा अध्ययनले झण्डै ४० प्रतिशतजति भारतबाट हुने आयात भन्सार छलिमै नेपाल भित्रिने गरेको देखाएको छ ।
यसलाई रकममा हिसाब गर्ने हो भने वार्षिक अर्बैं रुपैयाँको हिसाब निस्कन्छ । त्यसमा पनि सीमा क्षेत्रका नागरिकले पारिबाट ल्याउने ससानो परिमाणका वस्तुको ब्यापारलाई हिसाब गरिएको छैन । यति ठूलो तस्करी हुने गरेको भारतसँगको ब्यापारले हाम्रो सुरक्षा निकायलाई पनि त्यत्तिकै चिन्तित पार्दै आएको छ ।
यद्यपि, बर्दीया प्रहरीले आज एउटा पुरानो साइकलमा १४ हजार रुपैयाँजति पर्ने सामान भन्सार छलेर ल्याएको भेट्टाएपछि बरामद गरेको छ । खानेपानीको पाइपसहितका हार्डवयर सामाग्री ल्याएको फेला पारेपछि बरामद गरेर कानूनी कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको प्रहरीले जनाएको छ ।
गुलरियाकै वडा नं. ६ को शान्तिटोलमा सडककै छेउ उक्त साइकल पाइएको प्रहरीले विज्ञप्तीमार्फत् भनेको छ । तर या सामान कसले ल्याएकाे हाे भन्ने चाहीँ खुलेकाे छैन ।