देउवा सरकारले कर्मचारीलाई काम गर्ने वातावरण बनाएनन्, २ महिनामा यी कर्मचारीलाई सास्ती  « Arthapath.com
२० भाद्र २०७८, आईतवार

देउवा सरकारले कर्मचारीलाई काम गर्ने वातावरण बनाएनन्, २ महिनामा यी कर्मचारीलाई सास्ती 



काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको २ महिना पुग्न लाग्दा पनि सरकार गठन गर्न नसकेको आरोप खेपिरहेका प्रधानमन्त्री शेर बहादुरले कर्मचारीलाई काम गर्ने वातावरण नै नबनाएको आरोप पनि लागि रहेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका कर्मचारी हटाउनमा नै प्रधानमन्त्री देउवाको २ महिना कायर्काल सकिने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारीदेखि संचय कोषका प्रमुखलाई बर्खास्त गरेको देउवाले अन्य कर्मचारी पनि संसकित बनेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हितेन्द्र देव शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गरेका छन् । तर शाक्यले कुलमानको नियुक्तको बदर गर्न र आफूलाई नै उक्त पदमा राख्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका छन् । उक्त मुद्धामा सुनावाई हुन बाँकी रहेको छ ।

त्यस्तै, कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई देउवा सरकारले वर्खास्ती गरेको थियो । तर उक्त कदमलाई सर्वाेच्च अदालतले रोकेको छ । गौतमलाई बर्खास्त गरि जितेन्द्र धिताललाई कामु प्रशासक तोकेको थियो । सर्वोच्च अदालतले प्रशासक गौतमलाई वर्खास्ती रोक्न आन्तरिम आदेश दिएको छ ।

त्यस्तै, केही साता अघि मात्रै नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले वर्तमान सरकारले काम गर्न वातावरण नै नबनाएको भन्दै पदबाट राजीनामा दिएका थिए । वर्तमान सरकार देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधपूर्ण अराजनीतिक ढंगले स्थापित भएको आरोप लगाउँदै विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर आफूले पदीय जिम्मेवारी निभाउन नसक्ने भएकाले राजीनामा दिएको उनले बताएका थिए ।

त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई पनि अनुसन्धानमा सहजता तुल्याउन भन्दै जबरजस्त राजीनामा दिन लगाईएको छ भने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बित गरि अनुसन्धान गरिरहेको छ । साउद र ढुंगानालाई परिवारको नाममा सर्वाेत्तम सिमेन्टको सेयर किनेको आरोप लागि रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाको सरकारले राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याललाई मन्त्रालयमा तानेको छ । अर्याललाई साढे दुई वर्ष अगाडी तत्कालिन ओली सरकारले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । कम्पनीको एक दशकदेखि रोकिएका लेखापरीक्षण तथा साधारणसभालाई सहजिकरण गर्न सकिने भन्दै मन्त्रालयकै प्रतिनिधिको रुपमा अर्याललाई नियुक्त गरिएको थियो ।

त्यस्तै, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि हटाउनका लागि देउवा सरकारले विभिन्न खेल खेरिरहेको आरोप लगाईएको छ । पछिल्लो समय राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाई गरेपछि सेयर बजारमा गिरावट आएको छ । उक्त निर्णयलाई कारण बनाई अर्थमन्त्री जनार्दन शर्माले गर्भनर अधिकारीलाई हटाउने बहाना गरिरहेका छन् ।

प्रधानमन्त्री देउवा नियुक्त भएको झण्डै २ महिना पुग्न लागेको छ । तर २ महिनाको अवधिमा सरकारलाई पूर्णता दिन सकेका छैनन् । उल्टै तत्कालिन ओली सरकारले नियुक्त गरेका निर्णयलाई उल्ट्याउने काम मात्रै गरिरहेका छ । यसले गर्दा अन्य कर्मचारीलाई पनि काम गर्ने वातावरण नभएको आरोप लागि रहेको छ । अनेकन बहाना बनाएर कर्मचारीको मनोबल गिराउनका बर्तमान सरकार लागि रहेको बुझिन्छ ।


प्रतिक्रिया दिनुहोस्