घरमा पिस्तोल र राइफल राख्नेले अब पहिलेभन्दा २५ गुणासम्म बढी राजश्व तिर्नुपर्ने « Arthapath.com
२८ भाद्र २०७८, सोमबार

घरमा पिस्तोल र राइफल राख्नेले अब पहिलेभन्दा २५ गुणासम्म बढी राजश्व तिर्नुपर्ने



काठमाडौं । सरकारले घरमा हतियार तथा खरखजाना राख्ने वा आफ्नो साथमा हतियार बोकेर हिँड्ने नेपालीका लागि लिने राजश्वमा भारी बृद्धि गरेको छ । गृह मन्त्रालयले आज सोमबार राजपत्रमा एक सूचना प्रकाशित गर्दै हातहतियार राख्नका लागि लिने राजश्व २५ गुणासम्म बढाएको हो ।

हातहतियार खरखजाना नियमावलीको दशौं संशोधन जारी गर्दै मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । यसअघि उक्त नियमावली अन्तिम पटक २०७१ पुस १४ मा संशोधन भएको थियो । यसअघि पिस्तोल, रिभल्वर र राइफलहरु राख्ने इजाजत लिन जम्मा २०० रुपैयाँ राजश्व तिरे पुग्थ्यो । अब यस्तो इजाजत लिन ५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

त्यस्तै टोटावाला बन्दूक वा मिनिएचर राइफल राख्न यसअघि २०० रुपैयाँको राजश्व बढाएर ४ हजार पुर्याइएको छ । त्यही २०० मा भरुवा बन्दुक राख्ने लाइसेन्स पाइन्थ्यो भने अब ३ हजार रुपैयाँ तिर्नुपर्ने छ । १०० रुयैयाँमा पाइने हावादारी बन्दूकको इजाजत लिन अब २ हजार रुपैयाँ खर्चनु पर्ने छ ।

यो राजश्व कुनै एउटा जिल्लाभित्रका लागि मात्र हो । नेपालभर हतियार लिएर घुम्ने योजना छ भने थप १ हजार रुपैयाँ तिर्नुपर्छ । यसअघि जम्मा १०० रुपैयाँ थप पैसा तिरे यस्तो अनुमति पाइन्थ्यो । भरुवा बन्दुकका लागि भने थप शुल्क तिर्नु पर्दैन ।

नियमावलीको नयाँ संशोधनले पहिलो पटक अनुमति लिँदा बढी पैसा तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि भने पहिलो पटकभन्दा पछिल्ला वर्षमा अनुमति नविकरण गर्दा बढी पैसा तिर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसो गर्दा लामो समयसम्म बन्दुकको लाइसेन्स नविकरण नै नगर्ने परिपाटी विकास भए पछि नविकरण अनुमतिको शुल्क कम गरिएको मन्त्रालयले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्