नेप्से किन घटिरहेको छ ? ‘नियामक निकाय कमजोर हुँदा गिरोह सक्रिय भएर’, ‘शेयर बजारमा गिरोह/माफिया हुँदैनन्’ « Arthapath.com
२० मंसिर २०७८, सोमबार

नेप्से किन घटिरहेको छ ? ‘नियामक निकाय कमजोर हुँदा गिरोह सक्रिय भएर’, ‘शेयर बजारमा गिरोह/माफिया हुँदैनन्’



काठमाडौं । बजार निरन्तर बढ्दै नयाँ रेकर्ड कायम गर्दै ऐतिहासिक उचाइमा पुग्यो । शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गयो । शेयर बजारमा नेप्से परिसूचक मात्रै होइन, कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड कायम गर्यो । नेप्से परिसूचक र कारोबार रकम नयाँ उचाइमा पुगेका बेला नियामक निकायको भूमिका अलिक फर रह्यो । नियामक निकायको नियत नयाँनयाँ रेकर्ड कायम गर्दै गएको बजार घटाउने थियो या शेयर बजारलाई नियन्त्रण गरेर दरिलो र सबल बनाउने थियो । त्यो नियामक निकाय नै जानुन्, तर नियामक निकायले ल्याएका नीति र कामकारबाहीले लगानीकर्तामा निराशा छायो ।जब नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त विभिन्न ५१ कम्पनी सार्वजनिक गर्यो, त्यो बेलादेखि लगानीकर्तामा फरक दृष्य देखा परेको थियो । धितोपत्र बोर्डको उक्त कदमको चौतर्फी विरोध भयो । केही लगानीकर्ताले बोर्डको उक्त कदम फिर्ता गर्न माग गर्दै अदालतसम्म पुगे । 

नियामक निकायले नै धितोपत्र बोर्डले जोखिम कम्पनी भनेर सार्वजनिक गरेपछि लगानीकर्तामा निराशापन छायो । त्यस्तै, राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा तोकेपछि लगानीकर्ता आन्दोलित नै भए । शेयर धितो कर्जामा गरेको कडाइले शेयर बजारमा नकारात्मक प्रभाव पर्यो, जुन अहिले पनि परिरहेको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा कुनै एक लगानीकर्ताले एक वित्तीय संस्थाबाट ४ करोड र अन्य विभिन्न गरि १२ करोड रुपैयाँसम्म धितो कर्जा लिन पाउने ब्यवस्था गर्यो । जसले गर्दा शेयर बजार घटेको आरोप लगानीकर्ताहरूले गर्दै आएका छन् । मौद्रिक नीतिको त्रैमासिक समीक्षामा उक्त निर्णय राष्ट्र बैंकले हटाउने अनुमान लगानीकर्ताले गरेका थिए । तर राष्ट्र बैंकले ४–१२ को सीमालाई यथावत राखेपछि शेयर बजार निरन्तर घट्दै गएको छ । अर्को कारण बजारमा तरलता अभाव भएपछि शेयर बजार घटेको लगानीकर्ता बताउँछन् । नेप्से परिसूचक ३२ सय पुगेर घट्दै २४ सयमा झरेको छ । केही लगानीकर्ताहरू बजार अझै घट्ने बताउँछन् भने केही लगानीकर्ताहरू भने बजार धेरै घटेकाले अब बढ्ने बताउँछन् । केही लगानीकर्ता नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अभिभावकविहीन भएपछि गिरोहहरु सक्रिय भएर बजार घटाइएको आरोप लगाउँछन् ।

बैंकहरूमा तरलता अभाव र राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा ४–१२ को सीमा यथावत नै राखेपछि बजार घटेको नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष तथा कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाट बताउँछन् । शेयर धितोकर्जाको सीमामा कडाइ गरेपछि शेयर धितो नवीकरण गर्न नपाउँदा बजार घटेको उनले बताए । बजार निरन्तर घट्न थालेपछि लगानीकर्ताको मनोबल पनि कमजोर बनेको रानाभाटको भनाई छ । 

पछिल्लो केही महिनायता नियामक निकाय धितोपत्र बोर्ड अध्यक्षविहीन छ । नियामक निकाय कमजोर बन्दा गिरोहहरु पनि सक्रिय भएको आरोप लाग्दै आएको छ । ४–१२ को सीमाले बजारमा प्रभाव कायम राखेको तर पछिल्ला केही दिनयता बजार घटाइएको लगानीकर्ता उमेशराज सिलवाल बताउँछन् । तरलता अभावले बजारमा प्रभाव पारेपनि हल्ला फैलाएर बजार घटाइएको आरोप उनले लगाए । विभिन्न ग्रुपमा शेयर किन भन्न लगाएर बजार घटाउने गरेको उनको भनाई छ । उनले भने, ‘जबरजस्ती घटाइएको हो, टेक्निकल एनालाइसी गर्नेले शेयर किन्न लगाएर स्टक लस गराए, साना लगानीकर्ताले अरुको कुरा सुनेर कारोबार गरेका हुन्, गिरोह नै लागेपछि कसैको केही चल्दैन्, धितोपत्र बोर्डमा अध्यक्ष छैन्, अर्थमन्त्री र प्रधानमन्त्री निकम्मा बने, आन्तरिक रुपमा गिरोह सक्रिय भएर बजार घटाए ।’

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएकोले शेयर बजारमा प्रभाव परेको शेयर विज्ञ तथा विश्लेषक रविन्द्र भट्टराईले बताए । ‘ब्याजदर बढेको छ, बैंक तथा वित्तीय संस्थाबाट शेयर किन्नको लागि ऋण दिईएको छैन् ।’ भट्टराईले भने ‘१२ करोडभन्दा बढी ऋण लिएका लगानीकर्ताले ऋण तिर्नको लागि शेयर बिक्री गरिरहेका छन् ।’ अफ सिजन शुरु भएकाले पनि त्यसको प्रभाव बजारमा परेको उनको भनाई छ । उनी भन्छन्, “कम्पनीहरुले साधारणसभा गर्दै जाने र लाभांश वितरण गर्ने हुँदा त्यसको प्रभाव शेयरमा परेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा केही सकारात्मक कुराहरु ल्याउँछ भन्ने आशा गरेका थिए, त्यो मौद्रिक नीतिमा पुरा भएन ।” 

विश्लेषक भट्टराईका अनुसार नियम कानुन भित्र बसेर कारोबार गर्छ भने त्यसलाई गिरोह भन्न मिल्दैन । कुनै कम्पनीको शेयर कर्नरिङ गरेर अरुलाई नोक्सान पुर्याउने काम गरेको छ भने नियामक निकायले हेर्नुपर्ने हुन्छ तर शेयर बजारमा गिरोह, माफिया हुँदैनन् । 


प्रतिक्रिया दिनुहोस्