थाई स्माइलको काठमाडौँ–बैङ्कक उडान शुरु « Arthapath.com
१७ असार २०७९, शुक्रबार

थाई स्माइलको काठमाडौँ–बैङ्कक उडान शुरु



काठमाडौँ । सम्पूर्ण वायू सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । असार १७ देखि काठमाडौं–बैङ्कक दुई तर्फी हवाई सेवा प्रारम्भ भएको हो ।

सोही मिति देखि दैनिक रुपमा काठमाडौँं–बैङ्कक हवाई सेवा सञ्चालन गर्ने थाई स्माइल एयरवेजको योजना रहेको छ । यस रुटको लागि तोकिएको एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता रहेको छ, जसमा अन–बोर्ड मिल सर्भिस(विमान भित्रै खानाको सुविधा) पनि रहेको छ । थाई स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान भर्छ भने थाई एयरवेज ईन्टरन्यासनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दछ ।

आरआर ग्रुप अफ कम्पनिज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइले “काठमाडौँ–बैङ्कक हवाई सेवाको शुरुवात गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यसले निश्चित रूपमा बैङ्कक र एशियाका अन्य प्रमुख शहरहरू बीच बढ्दै गईरहेको हाम्रो सम्बन्धलाई अझै बलियो बनाउनेछ । हामीलाई विश्वास छ कि यो नयाँं यात्रुवाहक उडान सेवाले नेपाल–थाइल्याण्ड सम्बन्धमा अर्को सुनौलो आयाम थप्नेछ । साथै हामीलाई यो पनि विश्वास छ कि यस रुटको शुरुवात सँगै नेपाल बिस्तारै मध्य–दक्षिण एसिया र अन्य एसियाली मुलुकहरुका लागि पनि पर्यटकिय आकर्षणको केन्द्र हुनेछ ।”

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले “थाई स्माइलको हवाई उडान सेवा शुरु गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनः हवाई सेवा सुचारु गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको छ । यसको साथै यो उडानले दुवै देशको पर्यटन प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई पनि उकास्नेछ ।”


प्रतिक्रिया दिनुहोस्