निजी क्षेत्रसँग सहकार्यमा लगानी भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

निजी क्षेत्रसँग सहकार्यमा लगानी भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

गैर आवाशीय नेपाली संघको वार्षिक साधारणसभाको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र यहाँ लगानीको प्रतिफल पनि अन्य देशमा भन्दा राम्रो रहेको बताएका छन्।


“नेपालमा लगानीको वातावरण छ । पूराना र जटिल कानूनहरु परिवर्तन भएका छन् । अरु बाँकी कानूनहरु परिवर्तन हुँदैछन् । नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपाईले अन्य देशमा पाउने भन्दा राम्रो छ,” उनले भने ।


गैर आवासीय नेपाली संघले एनआरएन कोष स्थापना गरी कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न सुरुगरेको बताउँदै यसलाई थप प्रभावकारीरुपमा अगाडि बढाउन उनले आग्रह गरे ।

नेपालमा आइपर्ने विभिन्न प्राकृतिक विपत्तिको समयमा गैर आवासीय नेपालीहरुले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पूँजीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।


“तपाईहरुले आफू रहेका स्थानमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्नुहोस्, निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भने ।

उक्त अवसरमा उनले गैर आवसीय नेपालीहरुलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरु भएको जानकारी गराए । उनले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैर आवासीय नेपाली संघलाई आग्रह समेत आग्रह गरेमा छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्