९० लाखमा बनेको ‘श्री’ नामक रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

९० लाखमा बनेको ‘श्री’ नामक रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट



काठमाडौं । ‘श्री’ नामक प्रोजेक्टमार्फत तयार भइरहेको रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको छ । एस्ट्रल स्पेस रिसर्च नेपालले सिबिएम कलेज अफ साइन्ससँगको सहकार्यमा तयार पारेको उक्त रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको हो ।

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिसर्च नेपालका अध्यक्ष शिशिर जोशीले आगामी जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा हुने प्रतियोगितामा सहभागी हुने रकेटको अनुसन्धान र विकासमा अनवरत खटिइरहेका युवा वैज्ञानिक पन्ध्र जनाको नामावली टुङ्गो लागेको बताए ।

“हामी एक सय ३५ देशबाट छानिएर २४ मा परेका छौँ । नेपालीले पनि रकेट वा स्पेससम्बन्धी अध्ययन गरेर आफूलाई अब्बल साबित गराउन सफल भएका छौँ । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो”, अध्यक्ष जोशीले भने । उनले यो आयोजनामा ९० रुपैयाँ लाख खर्च भइसकेको जानकारी दिँदै आगामी यात्राका लागि आर्थिक अभाव भएको बताए ।

“हामीलाई अमेरिकासम्म पुग्न खर्च र भिसा लगायतको समस्या छ । यो प्रोजेक्टमा हामीले विभिन्न निकायबाट सहयोग पाउने प्रतिबद्धता पाए पनि सहयोग पाएका छैनौँ”, अध्यक्ष जोशीले भने । नेपालबाट प्रतिनिधित्व गरेर सहभागी हुने भएकाले यस विषयमा बृहत् रुपमा जानकारी गराउन जेठ ९ देखि १४ सम्म काठमाडौँस्थित सिबिएम कलेजमै ‘आकाश छुने सपना, नेपालको रकेट’ प्रदर्शनी आयोजना गर्न लागिएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्