आर्थिक मन्दी र चर्को ब्याजदरले थलिएको घर जग्गाको व्यापार: ३४ अर्ब बढी राजश्व गायब, अब बढ्ला त कारोबार ? « Arthapath.com
१ श्रावण २०८०, सोमबार

आर्थिक मन्दी र चर्को ब्याजदरले थलिएको घर जग्गाको व्यापार: ३४ अर्ब बढी राजश्व गायब, अब बढ्ला त कारोबार ?



काठमाडौं । घर जग्गा कारोबारमा भारी गिरावट आएको छ । विशेषगरि आर्थिक संकट, तरलता अभाव, उच्च ब्याजदर लगायतका कारण घर जग्गा कारोबार प्रभावित बनेको छ । घर जग्गा कारोबारमा आएको गिरावटले राजश्व संकलन पनि नमज्जाले प्रभावित बनेको छ ।

एक वर्षमा घर जग्गा कारोबार २ लाख ७७ हजार ५११ ले कमी देखिएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कुल ७ लाख ४५ हजार ११९ वटा घर जग्गा किनबेच (लिखित नामसारी) भएको थियो । तर, गत आव २०७९/८० मा भने घटेर ३७.२४ प्रतिशतले घटेर ४ लाख ६७ हजार ६०८ वटामा झरेको छ ।

जग्गाको सहज रुपमा जग्गा कित्ताकाट हुन नसक्दा नै कारोबारमा कमी आएको । सरकारले गत वैशाख ५ गते नै जग्गाको कित्ताकाट खुला बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले नै भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको हो । तर, सो निर्णय सहज रुपमा कार्यान्वयन हुन् नसक्दा कारोबार बढ्न सकिरहेको छैन । व्यवसायीहरुले सरकारले कित्ताकाट सहज बनाउन गरेको निर्णयपछि घर जग्गा कारोबार बढ्ने आशा थिए । तर, सहज रुपमा सो निर्णय कार्यान्वयन नहुँदा कारोबार सुस्ताएको व्यवसायीहरु बताउँछन् ।

यस्तै, नेपाल राष्ट्र बैंकले पनि घर जग्गा कारोबारमा लचिलो नबेपछि व्यवसायीहरु निराश बनेका छन् । अनिवार्य वर्गीकरण र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण पनि घरजग्गा कारोबारमा फष्टाउन नसकेको हो । गत आवमा विशेषगरि बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम (तरलता) को अभाव र स्थानीय तहले जग्गाको वर्गीकरण नगरिदिँदा कारोबार घटेको विज्ञहरु बताउँछन् ।

सरकारले २०७९ जेठ २३ गते भू–उपयोग नियमावली–२०७९ नियमावली जारी गरेको थियो । सो नियमावलीमा वर्गीकरण नभएका जग्गा कारोबार गर्न नपाइने व्यवस्था गरेको थियो । त्यसपछि नै व्यवसायमा कमी आउँन थालेको एक घर जग्गा व्यवसायीले बताए । उनले भने,–‘धेरै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले जग्गा किनबेच गर्न चाहानेलाई पनि समस्या भईरहेको छ । तरलता अभाव र ब्याजदर वृद्धि लगायतका समस्याले पनि कारोबारमा कमी आएको हो ।’

कारोबार घटेपछि ३४ अर्ब ३९ करोड राजश्व गायब

घर जग्गा कारोबारमा आएको गिरावटसंगै यसबाट उठ्ने राजश्व पनि निकै नै प्रभावित बनेको छ । एक वर्षमै घर जग्गा कारोबारबाट उठ्ने राजश्वमा ३४ अर्ब ३९ करोड ४७ लाख रुपैयाँले कमी आएको छ ।

अघिल्लो आव २०७८/७९ मा घर जग्गा कारोबारबाट ७५ अर्ब ५५ करोड २३ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । तर, गत आव २०७९/८० मा भने यस्तो कारोबारबाट ४१ अर्ब १५ करोड ७६ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

विशषेत: पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण पनि घर जग्गा कारोबारमा सुधार आउन नसकेको व्यसायीहरु बताउँछन् । ‘पछिल्लो समय नेपाली अर्थतन्त्रमा अप्ठ्यारो परिथितिमा छ । तरलता अभाव, उच्च ब्याजदर, महँगी लगायतले पनि यसको कारोबार बढ्न सकिरहेको थिएन’–ती व्यवसायीले भने ।

गत असार मसान्तसम्म आईपुग्दा भने विस्तारै बढ्न थालेको उनको भनाई छ । गत असारमा ४८ हजार ७७१ वटा घर जग्गा किनबेच (लिखित नामसारी) भएको थियो । अघिल्लो वर्ष २०७८ को तुलनामा १ हजार ७४४ वटाले बढी हो । विभागको तथ्याङ्क अनुसार गत असार महिनामा मात्रै घर जग्गा कारोबारबाट ४ अर्ब २७ करोड ४२ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

गत वर्ष माघ महिनापछि घर जग्गा कारोबार अलि बढ्न थालेको देखिएको छ । माघ महिनामा ४१ हजार ८६ वटा घर जग्गाको लिखित नामसारी भएको थियो । तर, फागुनमा भने केही घटेर ४० हजार ७३४ वटा कायम भएको छ। त्यसपछि भने विस्तारै बढेको छ ।

चैत महिनामा ४९ हजार १५० वटा, बैशाखमा ४२ हजार ४६१, जेठमा ५५ हजार ६९ वटा घर जग्गाको लिखित नामसारी भएको छ। गत आवको पहिलो महिना अर्थात साउनमा ३३ हजार ८३४ वटा घर जग्गा किनबेच भएको थियो । भदौमा भने ३४ हजार ७२० वटा किनबेच भएको थियो । तर, असोजमा भने घटेर २५ हजार ७८९ वटा कायम भएको छ । यस्तै, गत कात्तिक महिनामा २७ हजार ९३९ वटा, मंसिरमा २९ हजार १८४ र पुसमा ३८ हजार ८७१ वटा घर जग्गा किनबेच भएको थियो ।

साउनपछि बढ्ला त घर जग्गाको कारोबार ?

विशषगरि बैंकहरुको चर्को ब्याजदरकै कारण घर जग्गा कारोबार बढ्न नसकेको व्यवसायीहरु बताउँछन् । हाल बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर पनि घटेको छ ।

पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रमा लगानीयोग्य पुँजी वृद्धि भएको छ । जसले गर्दा अब साउनमा भने घरजग्गा कारोबार बढ्ने व्यवयासायीहरुको अपेक्षा छ ।

‘घर जग्गा कारोबार नबढ्नुको मुख्य कारण बैंकहरुको चर्को ब्याजदर हो । हाल बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर घटाएका छन् । बैंकमा पनि लगानीयोग्य पुँजी बढेको बढ्यैछ । अब घर जग्गा कारोबार बढ्छ’– घर जग्गा व्यवसायी इच्छा बहादुर वाग्लेले बताए ।

पछिल्लो समय सरकारले कित्ताकाटको प्रक्रिया पनि अघि बढाएकाले यस्तो कारोबार बढ्ने उनको भनाई छ । उनले भने,–‘बैंकहरुको ब्याजदर त घटेको छ । अब छिट्टै कित्ताकाट पनि खुला हुन्छ । अनिवार्य वर्गीकरणको नीति र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबारमा सोचे जस्तो प्रगति हुन सकिरहेको थिएन् । तर, अब साउनमा बढ्छ ।’

यस्तो छ घर जग्गा कारोबारको तथ्याङ्क


प्रतिक्रिया दिनुहोस्