शिखर नगरपालिकाको एक वर्षमा खाना खाजा र विविध खर्चमा मात्रै ४७ लाख ३५ हजार रुपैयाँ स्वाहा ! « Arthapath.com
१० श्रावण २०८०, बुधबार

शिखर नगरपालिकाको एक वर्षमा खाना खाजा र विविध खर्चमा मात्रै ४७ लाख ३५ हजार रुपैयाँ स्वाहा !



काठमाडौं । डोटी जिल्लाको शिखर नगरपालिकाले एक वर्षको अवधिमा खाना खाजा तथा विविध खर्चमा मात्रै ४७ लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा खाना खाजा तथा विविध खर्चमा ४७ लाख ३५ हजार ५५७ रुपैयाँ स्वाहा पारेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्न पाउने व्यवस्था भए पनि नगरपालिकाले मापदण्ड विपरीत एक वर्षको अवधिमा खाना तथा विविधतर्फ उक्त रकम खर्च गरेको हो ।

“स्थानिय निकायका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी २०७५ मा नगर प्रमुख र उप प्रमुख लाई अतिथि सत्कार सुविधा उपलब्ध गराएको साथै बैठकहरुमा बैठक भत्ता समेतको व्यवस्था रहेको छ । पालिकामा हुने परिषद बैठकलाई सोही शिर्षकमा स्वीकृत कार्यक्रम अनुसार खाजा खर्च हुने हुदा पालिकामा हुने आकस्मिक आतिथ्य सत्कार र बैठकमा हुने खर्चको निश्चित मापदण्ड तयार गर्नु पर्नेमा गरेको देखिएन । आ.व. २०७८।०७९ मा विविध खर्च शिर्षकमा ४७ लाख ३५ हजार ५५७ खर्च भएको छ । निचित मापदण्ड बेगर खाजा खाना विविधमा खर्च भएको देखिन्छ।” महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

नगरपालिकाका लेखा अधिकृत रतन बहादुर माझीले विविद्य शिर्षक अन्तर्गत अतिथि सत्कार सुविधा रहेको बताए । ‘अतिथि सत्कारमा नगर प्रमुखले ११ हजार, उपप्रमुखले १० हजार र वडा अध्यक्षले ८ हजारले मासिक पाउछन्’ उनले भने, ‘जनप्रतिनिधिको अतिथि सत्कास र अन्य चियापानमा खर्च हुन्छ’ ।

महालेखाले खर्चमा मितव्ययिता कायम गर्न पनि भनेको छ । आर्थिक वर्ष २०७८।०७९ मा शिखर नगरपालिकाको ११ करोड ६७ लाख ३३ हजार बेरुजु रकम देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्