यस्तो छ जनैपूर्णिमा र जनैको महत्व « Arthapath.com
१४ भाद्र २०८०, बिहीबार

यस्तो छ जनैपूर्णिमा र जनैको महत्व



श्रावण शुक्ल पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा भनिन्छ । यस दिन जनै लगाउने जति सबैले नित्यकर्म समाप्त गरेपछि गुरु शिष्य सबै मिलेर नदी जलाशयमा गएर महासंकल्पपूर्वक श्रावणी स्नान गर्नुपर्छ । धेरै जना मिलेर गरिने स्नान भएको हुँदा यसलाई गणस्नान पनि भनिन्छ । ‘‘अर्थात् सङ्क्रान्ति, ग्रहण, सूतक र जुठामा यो स्नान गर्न निषेध छ भन्ने नारदको वचन छ । यसमा दश किसिमको स्नान गर्नुपर्दछ । अर्थात् १ – भस्म स्नान (खरानी दलेर स्नान गर्ने) २ – गोमय (गोबर) ३ – मृद् (माटो) ४ – वारी (पानी) ५ – गोमूत्र ( गहुँत) ६ – पयः गाईको दुध, ७ – दही ८ – आज्यम् (घिउ) ९ – दर्भ (कुश) र १० – मन्त्र समेत गरी दश किसिमका स्नान हुन्छन् । स्नानपछि भस्म, चन्दन आदि धारण गरेर स्नानाङ्ग तर्पण गर्नुपर्छ । अनि सुर्याेपस्थान, सन्ध्याबन्दनादि सकेर उपाकर्म गर्नुपर्छ ।

दुई दिन पूर्णिमा हुँदा ६ मुहूर्त भन्दा बढी भए भोलीपल्ट कमी भए अघिल्लादिन चतुर्दशीकादिन उपाकर्म गर्नुपर्दछ । अर्थात् उपाकर्म भनेको वेदाध्ययनको आरम्भको उत्सवय हो । यो कर्म आजबाट आरम्भ गरेर साढे पाँच महिनासम्म प्रत्येक दिन आ–आफ्ना शाखाका वेद अध्ययन गर्दै अन्त्यमा पौष वा माघमा रोहिणी नक्षत्र परेका दिन नदितटमा गएर विधीपूर्वक उत्सर्जन अर्थात् अध्ययन समाप्तीको उत्सव गर्नुपर्दछ । आजैका दिन अरुन्धतीसहित कश्यपादि सप्तर्षिको पुजा पनि गर्नुपर्दछ ।

सप्तर्षिहरू यसप्रकार छन् – १ – कश्यप २ – अत्रि ३ – भरद्वाज ४ – विश्वामित्र ५ – गौतम ६ – जमदग्नी २ – वशिष्ठ समेत सप्त ऋषि र अरुन्धतिको पनि पुजा गर्नुपर्दछ । अनि रुद्राभिषेक गर्नुपर्दछ । त्यसपछि ऋषिलाई तर्पण पनि गर्नुपर्दछ । ऋषिलाई तर्पण गर्ने पर्व भएकोले यस पर्वको नाम नै ऋषितर्पणी पूर्णिमा भनिन्छ । आजै यज्ञोपवितको (जनैको) संस्कार गरी यज्ञेपवित धारण गर्नुपर्दछ । यज्ञोपवीत संस्कारमा पहिले तन्तुदेवताको आब्हन गरी पुजा गर्नुपर्छ । तन्तुदेवता यस प्रकार छन् – १ – ॐ कार २ – अग्नी ३– सर्प (नाग) ४ – सोम, ५ –पितृ ६ –प्रजापति ७ – अनिल (वायु) ८ – यम र ९ – विश्वेदेव रहन्छन् । तिनको आवाहन गरी पुजा गर्नुपर्छ । त्यसपछि ग्रन्थी (शिखा) मा तीन देवताको १ – ब्रह्मा २ – विष्णु र ३ – रुद्र – को आब्हन र पुजा गर्नुपर्दछ । त्यसपछि ऋषि श्राद्ध गर्ने विधान छ ।

यो श्राद्ध नगर्दा प्रत्यवाय (पाप) नलाग्ने र गर्दामा फलातिशय हुने श्राद्ध भएको हुँदा गर्नेलाई फल प्राप्ती हुन्छ भने नगर्नेलाई पाप लाग्दैन । त्यसपछि पितृलाई र ब्राह्मणलाई यज्ञोपवित अर्पण गरी आफुले धारण गर्नुपर्छ । यज्ञोपवित धारण गर्दा पहिले आचमन गरेर विनियोग गर्नुपर्दछ ।

ॐ यज्ञोपवीतमितिमन्त्रस्य परमेष्ठी ऋषिः लिङ्गोक्ता देवता
श्रौतस्मार्तकर्मानुष्ठानसिद्ध्यर्थं नूतनयज्ञोपवीतधारणे विनियोग :।

यज्ञोपवीतलाई दुबैहातमा लिएर हातजोडी दशपटक गायत्रीमन्त्रले अभिमन्त्रण गर्नुपर्दछ । अनि तलको मन्त्र उच्चारण गरी यौटा एक्ले जनै लिएर दाहिने हात ठाँडो पारेर पहिले हातबाट छिराएर पछि शिरबाट धारण गर्नुपर्दछ । त्यसपछि अर्को एक्ले जनै लिएर पहिले जस्तै गरी पहिले दाहिने हातबाट र पछि शिरबाट छिराउनुपर्दछ । अनि पुरानु यज्ञोपवीत निकालेर त्याग गर्नुपर्दछ । पुरानो जनै त्याग गर्दा यो मन्त्र पढ्नुपर्छ ।

एतावद्दिनपर्यन्तं ब्रह्मत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् । इति ।

यसपछि आचमन गरेर यथाशक्ति गायत्री जप गरेर जप अर्पण गर्नुपर्दछ ।
अनेन नवीनयज्ञोपतीतधारणार्थे कृतेन यथाशक्तिगायत्रीजपाख्येन कर्मणा भगवान् सूर्यनारायणः प्रियतां नःमम । ॐ तत् सत् परब्रह्मार्पणमस्तु ।

यसै दिन रक्षाबन्धनको पूजा गरेर धारण गर्नुपर्छ। यसको मन्त्र यस प्रकार छ –

‘येन बद्धो बली राजा दानवेन्द्रो महाबल : ।
तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमा चल ।।’’ इति । (बली राजामा रो री सूत्रले दिर्घ भएको हो)

श्रावण शुक्ल पक्ष, श्रावण महिना, श्रवण नक्षत्रले युक्त श्रावणी, जनैपूर्णिमा । श्रावण शुक्ल पञ्चमी, हस्ता नक्षत्रले युक्त वा अयुक्त तिथिमा विधि पूर्वक गरिने स्नानलाई श्रावणीस्नान भनिन्छ । यो कर्म नैमित्तिक कर्म अन्तर्गत पर्ने भएकोले सूतक परेर रोकिएको अवस्था छ भने अन्य दिनमा गर्नुपर्ने हुन्छ । कर्मलोप गराउनु हुँदैन। वर्षाऋतुसँग सम्बद्ध पूर्णीमाका दिन ऋषिको आराधना गरिने हुनाले यो पर्वलाई ऋषितर्पणी पनि भनिन्छ । जसरी तीज पछिको ऋषिपञ्चमी महिलाका लागि जति महत्वपूर्ण मानिन्छ, पुरुषका लागि पनि त्यति नै महत्वपूर्ण पर्वका रुपमा यस दिनलाई लिइन्छ । पुरुषले जान – अन्जानमा वर्षभरी गरेका कृत्याकृत्य कार्यको प्रायश्चित्त, क्षमापूजा वा आत्मपूजा हो जनैपूर्णीमा । श्रावण शुक्ल चतुर्दशीका दिन चोखनीतिका साथ मुण्डन गर्दै एक छाक खाई पूर्णिमाका दिन गुरु, शिष्यलगायतका अन्य ब्यक्ति सामूहिकरुपमा नदी, पोखरी, तलाउ, कुवा वा ईनार आदि गरिएका पवित्र जलाशयमा गई माटो, गोबर, भष्मका साथ कुश, दतिवन, बास्नादार फुल, दुबो प्रयोग गर्दै स्नान गर्दछन् । स्वास्थ्य विज्ञानका आधारमा उक्त स्नानमा आध्यात्मिकतका साथ – निरोगीता र वैज्ञानिकता रहेको पाईन्छ । सामूहिक सहभागितामा तिर्थ प्रार्थनासहित विधिपूर्वक स्नान गरिने हुनाले श्रावणीस्नान पनि भन्ने गरिन्छ । यसरी विधिसम्मत तरिकाबाट अगाडी बढ्नका लागि निम्नानुसारका कार्यलाई अवलम्बन गर्नुपर्दछ । ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, जैन, बुद्धिष्टलगायतका सबै वर्ण र समुदायको सामुहिक पर्व जनैपूर्णीमाका दिन पशुपतिनाथ, गोसाइँकुण्ड, कुम्भेश्वर, देवघाट, चतराधामलगायतका विभिन्न क्षेत्रमा श्रावणी मेला लाग्ने गर्दछ । अधिकांश क्षेत्रमा आफ्ना गुरु – पुरोहितबाट अभिमन्त्रित डोरो बाँधी जनै फेर्ने गरिन्छ भने तराई क्षेत्रमा दिदीबहिनीका हातबाट राखी बाँध्ने प्रचलन रहिआएको छ । वैदिक कालदेखि नै एवंरितले हुँदै आएको यो पर्व आफैंमा अनुशीलन र श्लाघनीय रहेको छ । यो पर्व विधिसम्मत तरिकाले अगाडी बढाउनु पर्छ ।

हाम्रा ऋषिमुनि तथा पूर्वजले चाडपर्व मनाउने र यसमा प्रयोग हुने सामग्रीको सोधखोजलामो समयदेखिको अनुसन्धान र साधनाका माध्यमबाट विधि विज्ञानको विकास गरेका हुन् । यहाँ प्रयोग गरिएका सामग्रीको उपादेयता कहाँ सम्म र कति छ भन्ने विषय आयुर्वेद र यो क्षेत्रमा लागेका अनुसन्धाताले नै प्रष्ट पारेका छन् । स्वास्थ्य विज्ञानसँग सम्बन्धित यो पर्व विशेष पर्वका रुपमा स्थापित छ । प्रातः कालीन स्नानपछि गुरु शिष्यसहित समाजमा रहेका व्यक्तिको सामूहिक सहभागितामा यज्ञोपवीत तथा रक्षाबन्धन्को विधिपूर्वक वैदिक तथा पौराणिक मन्त्रद्वारा पूजाआजा गरिन्छ । कपासलाई काँचो धागोमा परिणत गरी धागोबाट बनाइने जनैको त्यान्द्रोलाई किन यति धेरै प्राथमिकता दिइन्छ भन्ने प्रश्न उठाइन्छ र उठाइनु पनि स्वभाविक नै हो तर यसलाई भौतिकताका दृष्टिले हेर्दा यसको महत्ता सोचे जस्तो त्यति कमजोर भने छैन । विभिन्न खालका वैज्ञानिक आधार यसमा समाविष्ट छन् । धार्मिक तथा वैज्ञानिक महत्वका साथ हेर्ने हो भने यसको गरिमा र महिमा विशाल छ । यहीं विशेषण र विशेषता बोकेको सूत्र मार्फत निर्माण गरिएको जनैले विशेष महत्व राख्दछ । समाजमा रहेका सबै तह र तप्काका हिन्दु धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने अनुयायीलाई रक्षासूत्रले हातमा बाँधी सबैमा एकरुपता र समभाव कायम गरी एकै सूत्रमा बाँध्ने पवित्र पर्व नै जनै पूर्णिमाको उपादेयता सदियौं देखि हाम्रो समाजमा अविच्छिन्नरुपमा अगाडी बढिरहेको छ । यज्ञोपवीतलाई किन यति महत्ता दिइन्छ यसको महनीयताका सम्बन्धमा हाम्रो प्राच्यविधाले धार्मिक र वैज्ञानिक आधारमा कसरी वर्णन गरेका छन् भन्ने विषय बुझ्न जरुरी छ । ब्रह्मज्ञान र वेद प्रतिपादित विषयको द्योतक – सूचक जुन सूत्र छ त्यो नै ब्रह्मसुत्र÷ जनै हो र जसलाई सावित्रीसुत्र पनि भनिन्छ । ऋग् – यजु – साम – अथर्व गरिएका वेद चार र गायत्री मन्त्र चौकिस अक्षरले गुणन गर्दा आउने ९६ संख्याको समूहको समष्टिगत स्वरुप नै जनै हो ।

हातको चार औंलाको मूल भागमा एकडोराले युक्त काँचो धागोलाई ९६ फन्का बेर्ने पुनः दुईपटक दोब्बर र तेब्बर पार्दा माथिका छयानब्बे नामको उच्चारणका गर्नु पर्दछ । उक्त धागोलाई पुनः तीन डोरामा परिणत गरी बाट्नु पर्ने हुन्छ । यसरी बाटिएको धागोलाई तेब्बर पारी बाट्दा ९ डोराको हुन पुग्दछ । तीन सूतेमा दुई, नौ सुतेमा दुई र दुवैको टुप्पो मिलाई पञ्च शिखा युक्त बनाउनुपर्छ । यी ९ डोरामा ॐ कारादि गरिएका नौ वटा देवताको आवाहनपूर्वक पञ्च शिखामा ब्रह्मादि गरिएका देवतालाई न्यास गरिन्छ भने तिनसूते धागोमा ब्रह्मा, विष्णु र शिवको पूजन गर्नुपर्दछ । जनैको लम्बाईका बारेमा वायाँ काँधदेखि नाभी÷नाइटो हुँदै कटि–कम्मरसम्मको हुनुपर्दछ । लामोमा कम्मर भन्दा तल र छोटोमा नाभी भन्दा माथि हुनु हुँदैन । प्रातः कालीन समयमा यी माथिका प्रक्रियालाई आत्मसात गर्दै निर्माण गरिएको जनै नै शुद्ध र परिष्कृत हुन पुग्दछ । सबै शक्तिले बास गर्ने परम पवित्र यज्ञोपवीत आफैंमा सिद्ध हुन्छ । देवताले पनि धारणा गर्ने सर्व शक्तिमान् जनै र डोराको अभिमन्त्रण जनै पूर्णिमाका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नी, र वशिष्ठ गरिएका सप्त ऋषिको पुजाआजा, रुद्राभिषेक, ऋषिको नाममा श्राद्धतर्पण पूर्वक वंश बिस्तारको क्रममा आएका ऋषिलाई स्मरण गरिन्छ । यसरी सिद्ध भएको जनै देवता, गुरु र आफ्ना पितृलाई दान गर्दै आफुले धारणा गरिन्छ ।

उपाकर्म : गुरुशिष्य परम्परा अनुसार वेद पढ्न शुरु गरिने दिन पनि यहीं हो । उपनित कुमारले वर्षा ऋतुको पूर्ण तिथिमा ऋषि, छन्द, देवता, सरस्वती, लक्ष्मी, वेदपुरुष, कात्यायन आदिको स्मरण गर्दै वेदाध्ययन प्रक्रियालाई अगाडि बढाउने र पढेका संहितको पुनरावृत्ति गर्नुपर्दछ । जसले मन्त्रमालिन्यताको दोष हटाई मन्त्र सामर्थ्यवान हुन पुग्दछन् । माथि बताईएका देवताको पुजा गर्दै विभिन्न अनुष्ठान पुरा गरिन्छ । यसरी विधिपूर्वक मन्त्रण गरिएको जनै लगाउनका लागि तयार हुन्छ ।

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् ।

आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।

प्रजापतिद्वारा निर्माण गरिएको यज्ञद्वारा पवित्र पारिएको यज्ञोपवीत – जनै धारणा गर्दछु । जसबाट मलाई आयु, विद्या, मेधा, यश, बल आदि गरिएका सामथ्र्य प्राप्त हुन् । प्रजापतिद्वारा निर्माण गरिएको यज्ञद्वारा पवित्र पारिएको यज्ञोपवीत – जनै धारणा गर्दछु । जसबाट मलाई आयु, विद्या, मेधा, यश, बल आदि गरिएका सामथ्र्य प्राप्त हुन् ।

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल । तेन त्वं प्रतिबध्नामि रक्षेमा चलमा चल ।।
भगवान वामनले सत्यताका लागि वाणीरुपी (तीन पाउ जमिनका माध्यमबाट) बन्धनद्वारा दानवका बलशाली र दानविर राजा बलिलाई जसरी बाँध्नुभएको थियो । त्यसैगरी यो रक्षासूत्रद्वारा तिमीलाई पनि बाँध्दछु सदा – सर्वदा तिम्रो रक्षा तीनै वामनले गर्नुहुनेछ भन्ने आशीर्वाद ब्राह्मणले दिने गर्दछन् । यसरी विधिपूर्वक लगाईएको जनै चार÷चार महिना वा जूठो – सूतक, ग्रहण, देवकार्य, पितृकार्य गर्दा परिवर्तन गर्नुपर्ने हुन्छ ।

एतावद्दिनपर्यन्तं यज्ञत्वं धारितं मया । जीर्णतत्वाद् परित्यागो गच्छ सूत्र यथा सुखम् ।।

जनै लगाउँदा शिरबाट छिराउनु पर्छ भने निकाल्दा पनि शिरोमार्गबाट नै निकाली पवित्र ठाउँमा बिसर्जन गर्नुपर्दछ । यज्ञोपवीत द्विजलाई र रक्षाबन्धन सबैलाई बाँध्न सकिन्छ । नेपाली चाडपर्व खानपिनसँग सम्बन्धित छन् । आफन्तसँगको भेटघाट, भलाकुसारी, अपनत्वको बोध गराउनका लागि यी पर्व कालजयी रहेका छन् । नौथरी गेडागुडी भिजाएर उमारिएको क्वाँटीका विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको छ । यसरी उमारिएको भिटामिन युक्त गेडागुडीले शरीरलाई पौष्टिकता प्रदान गर्दै रोगसँग लड्ने शरीरको आन्तरिक क्षमता बृद्धि गर्ने हुनाले यो पर्व क्वाँटी खाने पर्वका नामले परिचित रहेको छ । श्रावण महिनामा जङ्गलमा रहेका जडिबुटीको चरनमा रमेका लोकलगाईको गोबरमा औषधीय गुण हुनाले शरीरमा लेपन गर्दा सबै खालका चर्मरोगको निदान हुन पुग्दछ । जुन विधालाई आयुर्बेद तथा प्राकृतिक चिकित्सा भनिन्छ । वैदिक सनातन धर्म संस्कृतिको जय होस् ।

आचार्य बासुदेव उपाध्याय नेपाल


प्रतिक्रिया दिनुहोस्