पूँजी बजार उत्साहमय, नयाँ उचाईमा पुग्ने संकेत « Arthapath.com
६ आश्विन २०८०, शनिबार

पूँजी बजार उत्साहमय, नयाँ उचाईमा पुग्ने संकेत



काठमाडौं । राष्ट्र बैङ्कले सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने सङ्केत पाएसँगै सेयर बजार सुधार तिर लम्किएको छ । अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने वा संशोधन गर्ने लगायतका विषयमा गभर्नरले ग्रीन सिग्नल दिएको समाचार बाहिरि पछि साताको अन्तिम कारोबारको दिन सेयर बजार उच्च अकंले बढेको हो ।

यो साता (साउन ३१ गतेदेखि असोज ४ गते) बजार २२.७ अकंले बढेकोछ । यस चार कारोबारको दिन बजार एक दिन ओरालो लागेको थियो भने अन्य दिन भने सुधार देखिएको थियो ।

गत साता पनि चार दिन मात्र खुलेको बजार ७४.५९ अकंले बढेको थियो । गत साता ५ अर्ब २२ करोड ११ लाख ३५ हजार २३७ रुपैयाँमा सिमित भएको कारोबार यो साता भने सुधार भएको देखिन्छ । यस साता कारोबार ७ अर्ब ३६ करोड ९५ लाख ११ हजार ८९३ रुपैयाँ भएको थियो ।

अब लगानीकर्तामा केही आशा पलाएको देखिन्छ । मौद्रिक नीतिपछि ओरालो यात्रा तय गरेको बजारमा अब ब्रेक लाग्ने आशामा लगानीकर्ता छन् । यसबीचमा नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो । अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको छ । यसबाट निक्षेप थपिने र ब्याजदर घट्न आशा लगानीकर्ताहरुमा रहेको एक जानकारले बताए । तरलता बढ्ने अनि निक्षेप पनि घट्ने अनुमानसहित लगानीकर्ता उत्साहित भएको अनुमान गरिएको छ ।

आम लगानीकर्ताले १२ करोडको क्याप र १५० प्रतिशतको जोखिमभारलाई सेयर बजारको बाधक नीतिका रुपमा लिंदै आएका छन् । लगानीकर्ताले सेयर बजारको दीगो सुधारका लागि धितो कर्जामा जेखिमभार १०० प्रतिशतमात्र निर्धारण गरिनुपर्ने बताउँदै आएका छन् । सो सम्बन्धी सकरात्मक संकेत पाएसँगै बजार नयाँ उचाइमा पुग्ने आशा लगानीकर्ताले गरेका छन् ।

निरन्तर बजार खुम्चि रहदाँ मनोबल कमजोर भएका लगानीकर्ता बिस्तारै लगानी गर्ने थाल्ने बातावरण बन्दै गएको देखिन्छ । यता, धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन गृहकार्य थालेको छ । यसको सकारात्मक प्रभाव पनि बजारमा पर्ने देखिन्छ ।

लाभांशको सिजन सुरु भएको छ । अबका साता लाभांशमय हुने देखिन्छ । अधिकांश बैंक लाभांश वितरणको अन्तिम तयारीमा छन् । अहिले सेयर किन्ने वा पुरानो होल्डमात्र गर्नेले पनि केही समयपछि नै लाभांश हात पार्न सक्ने अवस्था छ । यसले पनि बजारमा विस्तारै सुधार हुने अनुमान गर्ने सकिन्छ । बजार सुधारमा ल्याउनको लागि प्रमुख दायित्व लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामकले लगानीकर्ताको मनोबल उच्च बनाउन लागि परेका देखिन्छ ।

अहिले बैङ्क तथा वित्तीय संस्थासँग यसै पनि लगानीयोग्य पुँजी छैन । तर सेयर बजार उकासिने हो भने त्यसले कृत्रिम रूपमै भए पनि मूल्य अभिवृद्धि गराउँछ । सेयरको कारोबारले वित्तीय प्रणालीमा सम्पत्तिको मूल्याङ्कन बढेर निक्षेप सिर्जना हुन्छ । यसले कर्जायोग्य रकम पनि विस्तार गर्न सघाउ पुग्छ । यही कारण आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन एउटा हतियारको रूपमा सरकारले सेयर बजारलाई उकास्ने रणनीति लिएको छ ।


प्रतिक्रिया दिनुहोस्