छठ पर्वका कारण भारतीय अर्थव्यवस्थामा सवा खर्बको ब्यापार, नेपालमा भने छैन आँकडा « Arthapath.com
४ मंसिर २०८०, सोमबार

छठ पर्वका कारण भारतीय अर्थव्यवस्थामा सवा खर्बको ब्यापार, नेपालमा भने छैन आँकडा



काठमाडौं । नेपालमा पछिल्ला केही वर्ष यतामात्रै काठमाडौं र पहाडी शहरहरुमा छठको रौनक देख्नलायक हुन थालेका छन् । यसअघि मुलतः मधेष प्रदेशमा यस पर्वको बढी महत्व थियो । नेपालजस्तै भारतमा पनि यो विहारको पर्व भनेर शताब्दीऔंसम्म चिनिएको थियो ।

सन् १९९० को दशकसम्म यमुनाको किनारमा कतैकतैमात्रै छठको पूजा हुन्थ्यो, त्यो पनि विहारबाट गएकाहरुले मात्रै मनाउँथे । तर अहिले भारतीय अर्थ व्यवस्थामा ठूलो योगदान गर्ने एक उत्सवको रुपमा यो पर्व विकास भइसकेको छ । अहिले भारतमा २० करोडभन्दा धेरै मानिसहरु छठ पूजामा सहभागि भएको अनुमान गरिएको छ ।

कन्फेनेरेशन अफ अल इण्डिया ट्रेडर्स (क्याट)को तथ्यांक अनुसार यो सालको छठमा मात्रै ८० अर्ब भारतीय रुपये (१ खर्ब २८ अर्ब नेपाली रुपैयाँ)भन्दा धेरैको ब्यापार भएको छ । क्याटले यो पर्व विहार र झारखण्डसहित उत्तरप्रदेशको पूर्वी भाग, दिल्ली, ओडिसा, पश्चिम बंगाल, महाराष्ट्र, राजस्थान, छत्तिसगढ एवम् मध्येप्रदेशमा पनि भव्यरुपमा मनाइएको भनेको छ ।

क्याटका महासचिव प्रवीण खंडेलवाललाई उद्र्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, ‘छठका बेला फल, फूल र तरकारीको विक्री ठूलो मात्रामा बढेको छ ।’ साथै लत्ताकपडा, साडी, गार्मेण्ट, श्रृंगारका वस्तु, खाद्यान्न, दाल, चामल, पिठो, सिंदुर, सुपारी, अलैंचि, पूजाका सामग्री, धूप, नरिवल, आँपको दाउरा, माटोको चुल्हो, देसी घ्यू जस्ता सामग्रीको विक्रीमा उछाल आएको छ ।

खसगरी महिलाहरुले आफ्ना पति र सन्तानको सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दै छठमा व्रत बस्ने गरेका छन् । छठको समयमा श्रीमान भएका महिलाहरुले नाकदेखि सिउँदोसम्मै सिंदुर लगाउने गर्छन् । ‘जति लामो सिन्दुर, उती लामो श्रीमानको आयु’ भन्ने मान्यता छ । आगामी ७ मंसिरमा पर्ने हरिबोधनि एकादशीमा तुलसी विवाह गरेपछि छठको औपचारिक समापन हुन्छ । त्यसपछि आर्यव्रत क्षेत्रमा विवाहको नयाँ मौसम शुरु हुन्छ ।

नेपालमा यस खालले ब्यापारको तथ्यांक राख्ने नगरेको भए पनि पहाडी क्षेत्रमा विस्तार भएको छठको संस्कृति र तराइमै पनि यस अवसरमा हुने खर्चको बढोत्तरीले अर्थतन्त्रलाई पहिलेभन्दा बढी चलायमान बनाउन सघाएको सहज अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्