विदेशी मुद्राको सटही तत्काल सूचारू गर्न इन्टरनेट सेवा प्रदायकको आग्रह « Arthapath.com
१३ बैशाख २०८१, बिहीबार

विदेशी मुद्राको सटही तत्काल सूचारू गर्न इन्टरनेट सेवा प्रदायकको आग्रह



काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ, नेपाल (आइस्पान) ले अबिलम्ब विदेशी मुद्राको सटहीको सिफारिस तत्काल सुचारू गर्न आग्रह गरेको छ । विदेशी मुद्राको सटही रोकिरहे इन्टरनेट सेवा ठप्प पार्ने चेतावनी समेत आइस्पानले दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा प्रदायकहरूले मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) दस्तुर बाँकी बक्यौता रहेको भन्दै रकम भुक्तानी नगरेसम्म विदेशी मुद्रा सिफरिस गर्न रोक लगाएको छ।

भुक्तानी रोकिएको कारण एयरटेलले यसै साता ब्याण्डविथ उपलब्ध नगराउने पत्र काटेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिफारिस रोकेकै कारण ब्याण्डविथको रमक भुक्तानी गर्न नपाएको भन्दै आइस्पानले दुखेसो पोखेको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एक वर्षदेखि ब्याण्डविथ प्रयोग गरेवापत भारतीय कम्पनी भारती एयरटेललाई करिब ३ अर्ब रूपैयाँ तिर्न बाँकी छ ।

इन्टरनेट जस्तो अतिसंवेदनशील क्षेत्रलाई राज्यले अवहेलना गरेको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए । उनी भन्छन्, ‘निजी क्षेत्रलाई दुरसञ्चार क्षेत्र र दूरसञ्चार सेवामा राज्यले आकर्षित गर्नुपर्ने हो । तर राज्यले त्यसो गरेको छैन । निजी दुरसञ्चार सेवाप्रदायकले विदेशी मुद्रा सिफारिस लिन नेपाल दूरसञ्चार प्राधिकरण हुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्र बैंक सम्मको विदेशी मुद्राको सटहीको स्वीकृति लिनुपर्छ । तर सरकारी दूरसञ्चार सेवा प्रदायकले भने सोझै बैंकमा गएर विदेशी मुद्रा सटही गर्न सक्ने व्यवस्था छ ।’


प्रतिक्रिया दिनुहोस्