बागमती नगरपालिकाका मेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा « Arthapath.com
२९ जेष्ठ २०८१, मंगलवार

बागमती नगरपालिकाका मेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नगरपालिकाका मेयर भरतबहादुर थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा मेयर थापासहित उपमेयर लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध नगरपालिकाको वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो ।

आरोपित सबैलाई कायम भएको बिगो छुट्टाछुट्टै असुल गर्नुपर्ने अख्तियारको माग छ । उनीहरूविरुद्ध ३ वटा कसुर लगाइएको अख्तियारले जनाएको छ । थापाविरुद्ध कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ ।

यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो । उनी यसअघि नै निलम्बनमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस्