प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुला « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुला



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदमुक्त भएसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त भएका हुन् ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावको पक्षमा ६३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ । बैठकमा उपस्थित २५८ सांसदमध्ये १ जना तटस्थ बसे ।

प्रचण्डले प्रतिनिधिसभा विश्वासको मत प्राप्त नगरेको पत्र संसद्बाट राष्ट्रपति कार्यालय पुगेसँगै अब सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुनेछ । त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागी कानुनविद्हरूलाई शीतल निवास बोलाएका छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत सरकार गठनका लागि आह्वान गर्ने नयाँ गठबन्धन कांग्रेस-एमालेका नेताहरूले बताउँदै आएका छन् ।

तर माओवादी लगायतले भने उक्त धारा अन्तर्गत नै बनेको दाहालको सरकारले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभामा सबैभन्दा ठूला दलको नेतृत्वमा सरकार बनाउने गरी राष्ट्रपतिबाट आह्वान हुनुपर्ने तर्क गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्