अर्थतन्त्र अवस्था डामाडोल छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र डामाडोल अवस्थामा रहेको बताएका छन् । आइतबार विश्वासको मत माग्दै ओलीले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको बताएका हुन् ।
‘अर्थतन्त्र डामाडोल अवस्थामा छ । आयात र निर्यात दुवै घटेको छ । १४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा त्यसको ७६ प्रतिशत मात्र संकलन हुन सक्यो । विगतमा लक्ष्यभन्दा राजश्व जहिले बढी उठने गर्थ्यो । यस परिपेक्षमा लक्ष्य भन्दा २४ प्रतिशत राजश्व हुनुले देशको अर्थतन्त्रमा भएको समस्या स्पष्ट देखाउँछ’ उनले भने ।
बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार नभएको उनले बताए । ‘बैंकमा पैसा थुप्रिएको छ । ब्याजदर पनि न्यून छ । तरपनि लगानी गर्न तत्पर हुने व्यवसायी छैनन् । कर्जा विस्तार घटेको घट्यै छ । कोही कर्जा लिन तयार भइराखेका छैनन्’ उनले भने । व्यवसायीहरूलाई प्रोत्साहन गर्नुको साटो उल्टै दुख दिँदा यस्तो अवस्था आएको उनले बताए ।
नेपाल राष्ट्र बैंकले ११.५ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएकोमा गएको वर्ष ५ प्रतिशतको हाराहारीमा मात्र कर्जाको विस्तार हुनुले व्यवसायीको चरम निरासा भाको उनले उल्लेख गरे ।
ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पर्नेको संख्या बढेको पनि उनले उल्लेख गरे ।
विकास निर्माण लथालिंग भएको र भ्रष्टाचारले सीमा नाघेको भन्दै उनले बताए । निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा लैजान अहिलेको सरकार बनेको उनको दाबी छ ।