पाथीभरा विवादले ताप्लेजुङमा कर्फ्यु, फुङलिङ बजार र काफ्लेपाटीमा भेला गर्न प्रतिबन्ध

काठमाडौँ। पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विवाद बढ्दै गएपछि प्रशासनले त्यहाँको बजार क्षेत्रमा ‘अनिश्चितकालिन’ कर्फ्यु आदेश जारी गरेको छ ।
फुङलिङ नगरपालिकाको बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदङ्गा, झडप तथा प्रतिकुल स्थितिको सृजना भएर शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण निषेध आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।
आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि ‘चार किल्ला भित्र’को क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम उक्त आदेश जारी गरिएको प्रशासनले भनेको छ ।
तोकिएको निषेधित क्षेत्रभित्र पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यो आदेश अनुसार फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र पर्ने पुर्वमा वडा नं. ७ सल्लेरी, पश्चिममा सोही वडाको घोडे चौर र थलाङ धारा क्षेत्र, उत्तरमा वडा नं. ४ उकालीपानी, दक्षिणमा वडा नं. ६ को शेर्पा टोल र भेटनरी कञ्चनजंघा टोलसम्मको क्षेत्रमा निषेध आदेश जारी गरिएको हो ।
यस्तै काफ्लेपाटी बल्लुडाँडा क्षेत्रमा पुर्वतर्फ पर्यटक प्रहरीको भवनको सय मिटर इलाका, पश्चिममा बल्लुडाँडा र डडेले इलाका, उत्तरमा केबलकार बेस स्टेसन तथा पानीको मुहान इलाकाको सय मिटर परसम्म र दक्षिणमा नयाँ बसपार्क इलाकाको सय मिटर जङ्गल इलाकासम्म पनि निषेधाज्ञा जारी गरिएको छ ।
ताप्लेजुङमा नो केबलकार पक्षधरले शुक्रवार गरेको विरोध प्रदर्शनका बीच वीरेन्द्रचोकमा झडप हुँदा प्रहरी सहित थुप्रै मानिस घाइते भएका छन् । नेपाली सेनाले पनि त्यस क्षेत्रमा विवाद चुलिएर सुरक्षा चुनौती उत्पन्न हुनसक्ने अड्कल काटेको छ ।
यसपछि जिल्ला प्रशासनले बजार क्षेत्र र केबलकार निर्माण क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।