पर्यटक आगमन बढेसँगै लयमा फर्किँदै होटल व्यवसाय, व्यापारमा र नाफामा क्रमिक सुधार « Arthapath.com
१२ फाल्गुन २०८१, सोमबार

पर्यटक आगमन बढेसँगै लयमा फर्किँदै होटल व्यवसाय, व्यापारमा र नाफामा क्रमिक सुधार



काठमाडौं । पर्यटन आगमन बढेसँगै होटलहरुको व्यापार र नाफामा सुधार आएको छ । होटल तथा पर्यटन क्षेत्रको नाफा दोहोरो अंकमा वृद्धि भएको हो ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत आधा दर्जन कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

हाल नेप्सेमा सोल्टी होटल, तारागाउँ रिजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल होटल, कालिञ्चोक दर्शन र सिटी होटल सूचीकृत छन् ।

६ महिनामै ती कम्पनीहरुले ४८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ११.३१ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीहरुले ४३ करोड ४५ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

पछिल्लो समय आन्तरिक र व्याह्य पर्यटकहरुको संख्या बढ्दो नै छ । महिनैपिच्चे औसत १ लाख हाराहारीमै विदेशी पर्यटक नेपाल भित्रिने गरेका छन् । अर्को तर्फ मुलुकमा विस्तारै आर्थिक गतिविधि पनि बढ्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेसँगै होटेलहरुको व्यापारमा सुधार आएको छ । पर्यटक आगमन वृद्धिले नै यस क्षेत्रको आम्दानी पनि बढेको छ । जसले खुद नाफामा सुधार आएको हो ।

समिक्षा अवधिमा सर्वाधिक नाफा सोल्टी होटलले कमाएको छ । ६ महिनामा सोल्टीले ३० करोड १७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत आवको तुलनामा पनि १४.६८ प्रतिशत धेरै हो । गत वर्षको दोस्रो त्रैमासमा पनि सोल्टीले २६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस होटलको व्यापारमा पनि १६.०६ प्रतिशत ग्रोथ देखिन्छ । ६ महिनामा होटलले १ अर्ब २१ करोड ९५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यता, तारागाउँ रिजेन्सी होटलले पनि १८ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । होटलले नाफा २.८४ प्रतिशत वृद्धि गरेको हो । यस होटलको व्यापार पनि ८.८१ प्रतिशत वृद्धि भई ६९ करोड ४८ लाख रुपैयाँ कायम भएको छ । यस्तै, चन्द्रागिरी हिल्सको नाफा पनि ५.७८ प्रतिशत वृद्धि भई ६ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । चन्द्रागिरीले ६ महिनामा ४२ करोड २५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

गत वर्षको दोस्रो त्रैमाससम्म नोक्सानीमा रहेको कालिञ्चोक दर्शन पनि धनात्मक देखिन्छ । गत वर्ष कालिञ्चोक दर्शन ८५ लाख रुपैयाँ ऋणात्मक थियो । तर, हाल ४७ लाख रुपैयाँ नाफा गरेको छ । ६ महिनामा कम्पनीले ३ करोड ८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकि, गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको व्यापार ४४ लाख रुपैयाँमा सिमित थियो । व्यापारमा आएको छलाङले नै कम्पनीको नाफा धनात्मक बनेको हो ।

समिक्षा अवधिमा ओरिण्टल होटलले पनि ४९ करोड १७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सो अवधिमा होटलले २ करोड ८८ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, गत वर्षको तुलनामा यस होटलको व्यापार र नाफामा संकुचन आएको हो । यस होटलको नाफा ४६ प्रतिशत र व्यापार १२ प्रतिशत घटेको देखिन्छ ।

यस्तै, सिटी होटलले पनि आफ्नो वित्तीय अवस्था सुधार गर्दै आएको छ । गत वर्षको दोस्रो त्रैमासमा सिटी ११ करोड ७९ लाख रुपैयाँ घाटामा थियो । तर, यो वर्षको सो अवधिमा आइपुग्दा भने ११ प्रतिशत घटाएर १० करोड ४९ लाख रुपैयाँमा झारेको छ । ६ महिनामा सिटी होटलको व्यापार २३ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्