गण्डकीको अर्थतन्त्र उकालो, कुन प्रदेशको आर्थिक वृद्धिदर कति ?

काठमाडौं । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर उच्च हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१–८२ को प्रारम्भिक अनुमान अनुसार गण्डकी प्रदेशले सबै प्रदेशलाई पछि पार्दै सबैभन्दा धेरै आर्थिक वृद्धि गरेको देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार प्रकाशन गरेको चालु आवको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्वन्धीको विवरणले यस्तो देखाएको हो । उपभोक्ताको मूल्यमा हिसाब गर्दा गण्डकीको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत पुगेको छ । गत आवमा पनि यस प्रदेशको आर्थिक वृद्धिदर ४.०९ प्रतिशत रहेको थियो ।
गण्डकीमा क्षेत्रमा रुपमा हेर्दा विद्युत तथा ग्यासको मूल्य अभिवृद्धि वृद्धिदर धेरै देखिएको छ । यस क्षेत्रको वृद्धिदर १३.१२ प्रतिशत रहेको छ । गण्डकी प्रदेशले पर्यटन, कृषि र सेवा क्षेत्रमा राम्रो प्रगति गरेपछि सबैभन्दा धेरै वृद्धि गर्न सफल भएको हो ।
दोस्रो स्थानमा बागमती प्रदेश रहेको छ । बागमतीको आर्थिक वृद्धि ५.१८ प्रतिशत भएको छ । बागमतीमा पनि विद्युत तथा ग्याँस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा उच्च देखिएको छ । यस क्षेत्रको वृद्धिदर १९.९५ प्रतिशत रहेको छ । मुलुककै राजधानी रहेको बागमती प्रदेशमा व्यापार, उद्योग र सेवा क्षेत्रको योगदान ठूलो छ ।
नेपालका अधिकांश प्रदेशमा आर्थिक स्थिति बिस्तारै सुधारिँदै गएको देखिन्छ । राष्ट्रिय रूपमा भने नेपालभरको औसत आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ ।
यो वृद्धिदर भन्दा माथि गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको वृद्धि देखिएको छ । यस्तै, कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको वृद्धि औसतभन्दा कम छ । तथ्याङ्क अनुसार कोशीको ३.३४ प्रतिशत, मधेशको ४.५० प्रतिशत छ ।
कार्यालयका अनुसार सबैभन्दा कम आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशको छ । सो प्रदेशको ३.३२ प्रतिशत मात्र वृद्धि गरेको अनुमान छ । यता, कोशी प्रदेशको वृद्धि पनि धेरै कम मात्र भएको छ । कोशीको आर्थिक वृद्धिदर ३.३४ प्रतिशत वृद्धि हुने अनुमान छ । जबकि, यी दुई प्रदेशमा गत आवको वृद्धिदर पनि करिब समान देखिन्छ ।
अघिल्ला तीन वर्षको तुलना गर्दा सबै प्रदेशमा बिस्तारै आर्थिक वृद्धि भएको देखिन्छ । तर, कोशी र सुदूरपश्चिम प्रदेशमा पछिल्लो वर्षमा खासै सुधार नभएको देखिन्छ । चालु आवमो लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ४.७० प्रतिशत हुने अनुमान छ । लुम्बिनीमा सबैभन्दा धेरै यातायात तथा भण्डार क्षेत्रको ९.७० प्रतिशत छ । तर, सबैभन्दा थोरै खानी तथा उत्खनन् क्षेत्रको २ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
यता, चालु आवमा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत रहने अनुमान छ । सो प्रदेशमा सबैभन्दा धेरै यातायात तथा भण्डार क्षेत्रको १०.४५ प्रतिशत र कम खानी था उत्खनन् क्षेत्रको १.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।