झापा इनर्जीको आईपीओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि सार्वजनिक निष्काशनमा आएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीको ३८ करोड १ लाख ९० हजार रुपैयाँ जारी पूँजीको १० प्रतिशत, अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागिएको हो।
यीमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ स्थित सौर्य विद्युत आयोजना निर्माणस्थल र त्यस वरपर १०० मिटरभित्र पर्ने क्षेत्रका प्रत्यक्ष प्रभावित बासिन्दाहरूका लागि छुट्याइएको छ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका शिवसताक्षी नगरपालिका–४ का अन्य स्थानीयहरूलाई वितरण गरिनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि सर्वसाधारण तर्फ छुट्याइएको शेयरको १० प्रतिशत, अर्थात ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५७ हजार २९ कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको छ, जसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरिसकेका नेपालीहरू योग्य हुनेछन्।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म खुला रहनेछ।
















