अर्थतन्त्रको ग्लोबल नक्सामा सुधारका संकेतः आईएमएफले किन बढायो वृद्धिदरको प्रक्षेपण ?
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२५/२०२६ का लागि विश्वव्यापी आर्थिक वृद्धिदरमा सुधार आउने सम्भावना देखाउँदै आर्थिक वृद्धिको अनुमान बढाएको छ ।
आईएमएफले वल्र्ड इकोनोमिक आउटलुकमा २०२५ का लागि विश्व अर्थतन्त्र वृद्धिदरको प्रक्षेपण २.८ प्रतशतबाट बढाएर ३ प्रतिशत र २०२६ का लागि ३.१ पुर्याएको हो ।
विश्व अर्थतन्त्रमा २०२५ मा तीन प्रतिशतको वृद्धिदरमा पुग्ने अपेक्षा गरिएको छ, जुन यसअघि गरिएको अनुमानभन्दा ०.२ प्रतिशतले बढी हो।
यो सकारात्मक संकेतले विश्वव्यापी आर्थिक गतिविधिमा स्थिरता र पुनरुत्थानको आशा जगाएको छ। अमेरिकी तथा अन्य मुलुकहरूमा शुल्क दरमा केही कमी र अग्रिम खरीदले गर्दा बजारमा गतिशीलता बढेको बताइएको छ। यसले व्यापार र उपभोग दुवै क्षेत्रमा प्रोत्साहन पु¥याइरहेको छ।
विशेष गरी चीनको आर्थिक गतिविधिमा उल्लेखनीय सुधार देखिएको छ भने युरोप र अमेरिका जस्ता विकसित अर्थतन्त्रहरूमा पनि वृद्धिदरमा सकारात्मक वृद्धि देखिएको छ। विकासशील र उदाउँदो अर्थतन्त्रहरूमा पनि आर्थिक विस्तार क्रमिक रूपमा अघि बढिरहेको छ।
यस आर्थिक वृद्धिदरले रोजगारी सृजना, व्यापार विस्तार र जनजीवनमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ। विश्वव्यापी आर्थिक सुधारले आगामी वर्षहरूमा स्थिरता र विकासका नयाँ अवसरहरू ल्याउने विश्वास छ।
यद्यपि केही जोखिमहरू रहिरहे पनि विश्व अर्थतन्त्रले अझै बढ्दो दबाब र चुनौतीहरूको सामना गर्दै पनि सुधारको बाटोमा अघि बढिरहेको छ। यसले विश्वभरिका सरकार, व्यवसाय र आम नागरिकहरूलाई उत्साहित गर्ने एक संकेतका रूपमा लिइएको छ।
आईएमएफका प्रमुख अर्थशास्त्री पिएर ओलिभियर गुरिनचसले भने, “शुल्क अझै उच्च छन्, तर जुन खराब अवस्था हुन सक्थ्यो, त्योभन्दा केही कम भएको हो। तथापि, यो दीर्घकालीन सुधारको संकेत होइन।”
आईएमएफले अमेरिका, चीन, युरोप, चीनलगायत प्रमुख अर्थतन्त्रहरूको वृद्धिदरमा थोरै सुधार हुने देखिएको उल्लेख गरेको छ। अमेरिकाको वृद्धिदर २०२५ मा १.९ प्रतिशत र २०२६ मा २ प्रतिशत हुने अनुमान छ। युरो क्षेत्रको २०२५ को वृद्धिदर १ प्रतिशत, २०२६ को १.२ प्रतिशत रहनेछ।
चीनको सन्दर्भमा भने अपेक्षाभन्दा राम्रो आर्थिक गतिविधि र अमेरिका–चीनबीचको अस्थायी शुल्क सम्झौताका कारण वृद्धिदर २०२५ मा ४.६ प्रतिशत र २०२६ मा ४.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
उता, उदाउँदो तथा विकासशील अर्थतन्त्रहरूमा २०२५ मा ४.१ प्रतिशत र २०२६ मा ४.० प्रतिशत वृद्धिदर रहनेछ।
यस्तै आईएमएफले २०२५ मा विश्व व्यापार वृद्धिदर २.६ प्रतिशत पुग्ने बताएको छ, जुन अप्रिलको अनुमानभन्दा ०.९ प्रतिशतले बढी हो। तर २०२६ मा भने यो दर घटेर १.९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
विश्व अर्थतन्त्र हाललाई लचकदार देखिएको भए पनि, दीर्घकालीन दृष्टिकोणमा व्यापारमा देखिएको अस्थिरता र नीतिगत अनिश्चितता प्रमुख चुनौतीका रूपमा देखिएको आईएमएफले स्पष्ट पारेको छ
आईएमएफका अनुसार हालको विश्व आर्थिक परिदृश्यमा देखिएका मुख्य जोखिमहरूमा पुनः शुल्क वृद्धि, भू–राजनीतिक तनाव, उच्च वित्तीय घाटा, र बढ्दो व्याजदर सामेल छन्। यिनले वैश्विक वित्तीय अवस्था झनै कडा बनाउन सक्छन्।
हालको अमेरिकी प्रभावकारी आयात शुल्क दर १७.३ प्रतिशतमा झरेको भए पनि यो जनवरीको २.५ प्रतिशतको तुलनामा निकै उच्च छ। विश्वको अन्य भागको औसत शुल्क दर ३.५ प्रतिशतमा झरेको छ, जुन अप्रिलमा ४.१ प्रतिशत थियो।
डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले अहिले २५–५० प्रतिशतसम्मका नयाँ शुल्क घोषणा गरिसकेको छ, जसमा अटोमोबाइल, स्टील, औषधि, काठ र सेमिकन्डक्टर चिप्स समेत छन्। यी शुल्कको पूर्ण प्रभाव आईएमएफको पछिल्लो पूर्वानुमानमा समावेश गरिएको छैन, तर आगामी महिनाहरूमा लागु भएमा विश्व व्यापारमा थप अवरोध सिर्जना गर्नेछ।

















