आईपीओ जारी गर्दै होटल भादगाउँ एण्ड रिसोर्ट, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

आईपीओ जारी गर्दै होटल भादगाउँ एण्ड रिसोर्ट, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल



काठमाडाैं । पर्यटकीय नगरी भक्तपुरमा उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनेको होटल भादगाउँ एण्ड रिसोर्टले आफ्नो व्यवसायलाई थप विस्तार गर्न सर्वसाधारणको सहभागिता लिएर साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ।

होटलले १५ लाख कित्ता शेयर जारी गरेर जम्मा १५ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ, जसबाट होटलको पाँचतारे स्तरमा स्तरोन्नति गर्ने र पूर्वाधार विकास गर्ने योजना छ।

शेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ। यसै सन्दर्भमा, एक औपचारिक कार्यक्रमको आयोजना गरी होटल भादगाउँ एण्ड रिसोर्टका प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

भक्तपुरको सांस्कृतिक धरोहरबाट प्रेरित यो होटल २०२१ मा स्थापना भएको हो र यहाँ नेवारी वास्तुकला र सांस्कृतिक वातावरणको वास्तविक झल्को पाइन्छ। युनेस्कोको विश्व सम्पदा सूचीमा परेको भक्तपुरका मध्यभागमा अवस्थित होटलले स्थानीय आतिथ्य सेवाको उत्कृष्टता प्रस्तुत गर्दै आएको छ।

हाल ४० वटा सुविधा सम्पन्न कोठाका साथ सञ्चालनमा रहेको होटलले आईपीओ निष्काशन पश्चात् आफ्नो व्यवसायलाई १०० वटा कोठासम्म विस्तार गर्ने, स्पा, फिटनेस सेन्टर, भूमिगत पार्किङ्ग, बाह्य बगैँचा, सेमिनार, कन्फरेन्स, डेस्टिनेशन वेडिङ्ग जस्ता नयाँ सेवाहरू थप गर्ने योजना बनाएको छ। यसले स्थानीय रोजगारी सिर्जना र भक्तपुरको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

होटल भादगाउँ एण्ड रिसोर्टले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा र दीगो विकास लक्ष्यमा प्रतिबद्ध रहँदै व्यवसाय विस्तार गर्ने रणनीति अघि सारेको छ। यससँगै, यस होटलको विस्तारले स्थानीय समुदायको समृद्धि र पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्