अमेरिकाको निर्णयले विश्व सुन बजारमा तरंग, के ट्रम्पले घाेषणा गरेकाे ट्यारिफ सुनमा पनि लागु हुन्छ ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अमेरिकाको निर्णयले विश्व सुन बजारमा तरंग, के ट्रम्पले घाेषणा गरेकाे ट्यारिफ सुनमा पनि लागु हुन्छ ?



काठमाडौं । अमेरिकी सरकारले सुनमाथि आयात शुल्क लगाउने निर्णय गरेसँगै विश्वभरको सुन बजारमा तीव्र हलचल देखिएको छ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) ले जुलाई ३१ मा सार्वजनिक गरेको पत्र अनुसार, अबदेखि १ किलो र १०० औंसरूपी सुनका बारहरू ’रेसिप्रोकल ट्यारिफ’ अन्तर्गत पर्नेछन्, जसको अर्थ ती बारहरूमा आयात शुल्क लाग्नेछ।

व्यापारीहरू यस्ता सुन बारहरूमा कुनै पनि शुल्क लाग्दैन भन्ने विश्वस्त रहेका वाल स्ट्रिटका सुन व्यापारीहरूलाई यस घोषणाले चकित पारेको सीएनएनले उल्लेख गरेको छ ।

तर, अब सो नीति परिवर्तन भएपछि अमेरिकामा सुन आयातको लागत बढ्ने, र यसको असर न्यूयोर्क, लन्डन तथा स्विट्जरल्याण्ड जस्ता प्रमुख सुन केन्द्रबीचको आपूर्ति श्रृंखलामा पर्ने प्रस्ट भएको छ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ’टैरिफ वार’ अन्तर्गत, स्विट्जरल्याण्डबाट आयात हुने सुन बारहरूमा ३९ प्रतिशतसम्मको आयात शुल्क लागू गरिएको छ, जुन बिहीबारदेखि कार्यान्वयनमा आएको हो। सीबीपीको उक्त निर्णय अनुसार, स्विस सुन बारहरूमा पनि यिनै शुल्कहरू लागु हुनेछ।

विश्व बजारमा ऐतिहासिक मूल्यवृद्धि

यो समाचार सार्वजनिक भएलगत्तै बिहीबार राति न्यूयोर्क बजारमा सुनको मूल्य प्रति औंस ३,५०० अमेरिकी डलर नाघ्यो, जुन अहिलेसम्मकै उच्च हो।

यद्यपि, शुक्रबार बेलुकीसम्म मूल्य घटेर ३,४६० डलरमा झरेको थियो। आज (शनिबार) विश्व बजारमा सुनको मूल्य ३,३९८ डलर प्रति औंस रहेको छ।

विश्लेषकहरूका अनुसार, सुनमाथि शुल्क लागेमा अमेरिकासहित विश्व बजारमा अझै मूल्यवृद्धि हुने प्रबल सम्भावना छ।
यसले मात्र नभई, सम्पूर्ण बहुराष्ट्रिय आपूर्ति प्रणालीमा अस्थिरता उत्पन्न गर्ने र सुनलाई सुरक्षित लगानी मान्ने प्रवृत्तिमा समेत असर पार्ने चेतावनी दिइएको छ।

ह्वाइट हाउसको खण्डन

सुनमाथि कर लगाउने विषयमा उठेको अन्योलका बीच, ह्वाइट हाउसले शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सुनमाथिको शुल्कबारे फैलिएको समाचारलाई भ्रमपूर्ण भनेको छ। अधिकारीहरूले यसबारे चाँडै कार्यकारी आदेशमार्फत स्पष्ट नीति ल्याइने जानकारी दिएका छन्।

नेपालमा कस्तो पर्ला असर ?

विश्व बजारमा देखिएको उतार–चढावको असर नेपालमा पनि प्रत्यक्ष देखिएको छ। नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेको छ।

शुक्रबार प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य, आज आइतबार सामान्य घटेर १,९९,२०० रुपैयाँमा झरेको छ।

सुनको मूल्य निरन्तर बढ्दै गएपछि उपभोक्ता मात्र नभई व्यवसायीहरू पनि दबाबमा परेका छन्। बजारमा सुनको कारोबार लगभग ठप्प जस्तै छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आयात लागत, सरकारी कर नीति र अन्तर्राष्ट्रिय अस्थिरता सबैले बजारलाई प्रभावित बनाएको छ।

व्यवसायीहरूका अनुसार, सरकारले बजेटमार्फत सुन र गरगहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरजडित गहनामा १३ प्रतिशत भ्याट लगाएको छ, जसले बजारमा ठूलो असर पारेको हो। कर वृद्धिपछि सुनको औपचारिक आयात घटेको छ भने बजारमा आपूर्ति अभाव देखिन थालेको छ।

अवैध व्यापारको जोखिम

औपचारिक आयात कम हुँदै गएपछि बजारमा अवैध माध्यमबाट सुन भित्रने सम्भावना बढेको व्यवसायीहरू बताउँछन्।
माग उच्च तर आपूर्ति न्यून हुँदा अवैध कारोबारीलाई फाइदा हुने अवस्था सिर्जना हुन सक्छ।

नेपाल–भारत खुला सीमाका कारण सुनको अवैध कारोबार सजिलै हुने गरेको छ। करको बोझ बढ्दा व्यवसायीहरू समेत कहिलेकाहीँ अवैध मार्ग रोज्न बाध्य हुन्छन्, जसले तस्करीलाई थप प्रोत्साहन दिन्छ।


प्रतिक्रिया दिनुहोस्