शेयर बजारमा कतै ‘माछो–माछोः भ्यागुतो’ हुने त होइन ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

शेयर बजारमा कतै ‘माछो–माछोः भ्यागुतो’ हुने त होइन ?



काठमाडौं । धेरैले आशा गरेको २५१४ अंकको टेवाबाट उठेको बजारमा पुनः एक पटक ब्रेक लागेको छ । मंगलवार शेयर बजार राताम्मे भयो । दिनभरको ब्यापारमाा ९९ अंकसम्म घटिसकेको बजार अन्तिम समयमा केही सुधारिएर २७५० अंक निकट रोकिएको छ ।

केही अघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२०० अंक नजिक पुगेर घट्न थाल्यो । गत वर्ष २५०० देखि ३००० अंकसम्म पुग्छ भनेको बजेर ३२०० नजिक पुगेपछि धेरै लगानीकर्ता उत्साहित भए । गएको २ कार्तिकमा २५११ अंकमा पुगेर नेप्से उकालो लाग्न थालेपछि धेरै लगानीकर्ता आशावादी बनेका थिए ।

हुन त, अहिले पनि नेप्से धेरै घटेको होइन । पछिल्लो ११ दिनमा ३४३ अंक बढेको बजार पछिल्लो दुई दिनमा १०० अंकभन्दा कममात्रै ओर्लिएको छ । तर मंगलवार एकै दिन करीब ८० अंक घटेपछि नेप्से २७५० अंकभन्दा तल ओर्लिएको छ । यसले पछिल्लो समय सामाजिक सञ्जालमा ‘नेप्से परिसूचक ४२०० अंक पुग्छ’ भन्दै होहल्ला गर्ने ‘ठूला लगानीकर्ता’को जोडबल भने धरासायि भएको छ ।

बैंक तथा वित्तीय संस्थामाा ४ वर्षपछि पुनः तरलता समस्या सुरु भएको छ । हरेक ४ वर्षमा चल्ने यो प्रबृत्तीले करीब एक वर्ष लगाएर शेयर बजार पनि बढ्ने र बाँकी एक वर्ष घट्ने प्रबृत्ती विगतमा देखिएको छ । घटिसकेपछि भने करीब २ वर्ष बजार तल्लो स्तरमा साइडवेज मुभमेण्टमा रहन्छ । यो प्रबृत्ती पुनः दोहोरियो भने अब शेयर बजार एक वर्षसम्म ओरालो लाग्न सक्छ ।

यसरी बजार घट्दा पनि लगातार घटिहरने हुँदैन । करीब १० प्रतिशतको उतारचढावमा बजार घट्न लागेको संकेत अहिले मिलेको छ । यो प्रबृत्ती कायम रहे अब बजारले ओरालो बाटो समातेको देखिन्छ । तिहारअघि २८४८ अंकसम्म उक्लिसकेको बजार अहिले ओरालो लागेपछि अब बजार दीर्घकालिन रुपमै घट्ने दिशामा जानसक्ने संकेत मिलेको छ ।

यदि नेप्से सूचकले पुनः २५०० अंकको सीमा पार गरेर ओरालो लाग्यो भने शेयर बजार दीर्घकालिन रुपमा झर्न थालेको पुष्टि हुनसक्छ । किनकी, त्यसबेला नेप्सेको एक वर्षको परिसूचकले बनाएको रेखाचित्रमा ‘हेड एण्ड सोल्डर’ आकृति तयार हुन्छ । मान्छेको डाउको र दुई काँधजस्तै देखिने यो आकृति तयार हुनु भनेको बजार ओरालो लाग्ने बलियो संकेत हो ।

यदि नेप्से सूचक २५०० अंकबाट ओर्लिन थाल्यो भने २४०० अंकमा थामिन सक्छ । त्यसपछि पनि झरेको खण्डमा चाहीँ २००० अंकभन्दा तल आउने रेखाचित्रको प्राविधिक विश्लेषणले देखाउँछ । यदी यो विन्दुबाट पुनः बजार बढ्न थाल्यो भने चाहीँ २९५० अंकतिर पुग्न सक्छ ।

मंगलबारको कारोबारमा आएकामध्ये जम्मा १२ कम्पनीको मूल्य बढ्यो भने एउटा कम्पनीको भाऊ उस्तै रह्यो । बाँकी सबै कम्पनीको शेयर मूल्य सस्तिएको नेप्सेले जनाएको छ । यस दिन २२५ कम्पनीका १ करोड १९ लाख १७ हजार कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँमा कारोबार भयो । अहिले नेप्सेमा एकै दिन १ लाख पटकभन्दा बढी कारोबार भइरहेको छ ।

यसरी बजार घटेको बेलामा पनि मानुषि लघुवित्त, साहास ऊर्जा र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य करीव १० प्रतिशतले बढेका छन् । यी शेयरहरु भर्खरैमात्र प्राथमिक निष्काशन (आईपीओ) मार्फत् बजारमा प्रवाहित भएकाले यिनिहरु अहिले पनि महँगिने क्रममै छन् । घट्दो मूल्यले भने आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकलाई सर्वाधिक दपेटेको छ । यी दुबै कम्पनीको शेयर मूल्य १० प्रतिशत सस्तिएका छन् ।


प्रतिक्रिया दिनुहोस्