हिमालयन डिष्टिलरीको बम्पर लाभांश घोषणा « Arthapath.com
७ पुष २०७८, बुधबार

हिमालयन डिष्टिलरीको बम्पर लाभांश घोषणा



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पौष २८ गते, बुधबार, आफ्नो रजिष्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा बिहान १० बजेदेखि शुरु हुनेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यस्तै, सभाले कम्पनीको नाममा दर्ता कायम रहेको ब्लु ओक नामक ट्रेडमार्क प्रयोग गरी अन्य उद्योगबाट समेत उत्पादन तथा बिक्री वितरण गर्ने सम्झौता स्वीकृत गर्ने, सञ्चालक समितिमा रहने ५ जना सञ्चालक सदस्यको निर्वाचनद्वारा चयन गर्ने, कम्पनीको चुक्ता पूँजी वृद्धि भएअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पौष १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण भामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख रहेको छ । प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी डेढ अर्ब नाघ्ने छ ।


प्रतिक्रिया दिनुहोस्