५ जीवन बीमा कम्पनीले प्रिमियममा आईपीओ ल्याउन नपाउने ! कानुनले दिए पनि ढुङ्गानाले रोके, हमालले के गर्लान् ?  « Arthapath.com
६ फाल्गुन २०७८, शुक्रबार

५ जीवन बीमा कम्पनीले प्रिमियममा आईपीओ ल्याउन नपाउने ! कानुनले दिए पनि ढुङ्गानाले रोके, हमालले के गर्लान् ? 



काठमाडौँ । के एकै पटक खुलेका एउटै प्रकृतिको व्यवसाय गर्दै आएका बीमा कम्पनीहरूलाई फरक–फरक नीति लागु होला ? आजभन्दा ५ वर्ष अघि सरकारले एकै पटक ३ निर्जीवन र ९ जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । १२ बीमा कम्पनीमध्ये ७ ओटा कम्पनीले आइपिओ ल्याइसकेका छन् । अझै ५ ओटा जीवन बीमा कम्पनीले आईपीओ निष्कासन तथा विक्री खुल्ला गरेका छैनन् । 

बीमा कम्पनीले प्रिमियममा आईपीओ ल्याउन मिल्दैन । किनकि लाइसेन्स लिने बेलामै १ आवको व्यालेन्ससिट प्रकाशित गरेपछि आइपिओ ल्याउन पाउने व्यवस्था छ । तर कम्पनी सञ्चालनमा आएको ४ आव पुरा गरिसकेका जीवन बीमा कम्पनीहरूले पनि धितो पत्र बोर्डको जोखना हेर्दै बसेका छन् । 

झन्डै १ वर्ष अघि नै रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । सो बारेमा बोर्डले कुनै निर्णय गरेको छैन । बीमा समितिले सेयरको विषय आफ्नो क्षेत्राधिकार बाहिरको भन्दै धितो पत्र बोर्डलाई जिम्मा लगाएको छ । 

धितो पत्र ऐन र नियमावलीमा लगातार ३ आर्थिक वर्षसम्म नाफा आर्जन गरेको कम्पनीले प्रिमियममा सेयर ल्याउन पाउने व्यवस्थालाई केही कम्पनीहरूले वर्षौँ कुरेर बसे एक जीवन बीमा कम्पनीका सीईओले भने । ‘उहाँहरूले पब्लिकप्रतिको उत्तरदायित्व बिर्सेर कम्पनीको हित र नाफालाई मात्र हेरे ।’

कानुनले दिएको सुविधाको प्रयोग गर्ने नाममा केही कम्पनीले क्यापिटलै पु¥याएका छैनन् । त्यसमा बीमा समितिले कुनै ध्यान दिएको छैन । आजको दिनमा सँगै खुलेका ४ ओटा जीवन बीमा कम्पनी पब्लिक भइसक्दा पनि ५ ओटा कम्पनी अझै कुरेका कुरै छन् । 

उस्तै सेवा तथा व्यवसाय गर्ने कम्पनीमा पनि भिन्न भिन्न नीति लागु हुनु नहुने अर्को बीमा कम्पनीका सीईओले बताए । धितोपत्र बोर्डले पनि आजसम्म कानुन अनुसार बीमा कम्पनीलाई प्रिमियममा सेयर ल्याउन अनुमति दिएको छैन । यसअघि धितो पत्र बोर्डको अध्यक्ष रहेका भीष्मराज ढुङ्गाना प्रिमियममा आइपिओ ल्याउन नदिने पक्षमा थिए । 

गत असोजमा सरकारले  ढुङ्गानालाई बर्खास्त गरेपछि बोर्ड नेतृत्व विहीन हुँदा यस्तो महत्त्वपूर्ण विषयमा निर्णय हुन सकेको थिएन । जसका कारण केही बीमा कम्पनी अझै १ अर्ब ४० करोड मात्रै चुक्ता पुँजी लिएर व्यापार गर्दै आएका छन् ।   

एक बीमा कम्पनीका सीईओले भने ‘आइपिओ जारी गरेको कम्पनीमा संस्थागत सुशासन छ भन्ने बुझ्नुपर्छ ।’ ‘तर फ्री मार्केट इकोनोमीलाई हेर्ने हो भने कानुनले दिएको अधिकारलाई बाँध्नु हुँदैन ।’ ‘एकै प्रकृतिको व्यवसाय गर्ने कम्पनीमा एकरूपता हुँदा राम्रो हुन्छ’ ती सीईओले भने । 

नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था ऐनमा बैङ्क तथा वित्तीय संस्थाले प्रिमियममा आइपिओ निष्कासन गर्न नपाउने व्यवस्था गरेको छ । बीमा समितिले पनि धेरै जसो नियमनको सवालमा राष्ट्र बैङ्कबाट कपी गर्ने गरेको छ । तर कानुनले खुकुले गरे पनि उही जीवन बीमा कम्पनीको सेयरलाई प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरे भने उही प्रकृतिको  अर्को कम्पनीको सेयर प्रतिकित्ता २ सय १२ रुपैयाँ हाल्नुपर्छ । 

५ महिनादेखि खाली रहेको धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त रमेश हमालले आगामी आइतबार कार्यभार सम्हाल्दै छन् । बुक विल्डङमा सेयर निष्कासन गर्ने कम्पनीको सेयर आफैले कम मूल्यमा किनेको आरोपमा बर्खास्तीमा परेका ढुङ्गानाले रोकेका प्रिमियममा सेयर निष्कासनलाई नयाँ अध्यक्ष हमालले के गर्लान् भन्ने चासोका साथ हेरिएको छ ।  

बीमा बजारमा आइएमई लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ, महालक्ष्मी लाइफ र सिटिजन्स लाइफले अझै आइपिमो ल्याएका छैनन् । उनिहरुको चुत्ता पुँजी बीमा समितिले तोकेको न्युनतम २ अर्व अझै पुगेको छैन ।


प्रतिक्रिया दिनुहोस्