एक जनाले गल्ति गर्दैमा सय जनालाई कारवाही हुँदैन्, मर्जर एक्वीजिशनमा अन्यौलता हट्छः अध्यक्ष हमाल « Arthapath.com
१९ असार २०७९, आईतवार

एक जनाले गल्ति गर्दैमा सय जनालाई कारवाही हुँदैन्, मर्जर एक्वीजिशनमा अन्यौलता हट्छः अध्यक्ष हमाल



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु एकपछि अर्काे गरी धमाधम मर्जरमा जान थालेका छन् । राष्ट्र बैंकको दबावले वाणिज्य बैंकहरु र बीमा समितिको दबावले बीमा कम्पनीहरु मर्जरमा जान थालेका हुन् । हालसम्म विभिन्न वाणिज्य बैंकहरु मर्जरमा जानका लागि एमओयु गरेका छन् भने आधा दर्जन भन्दा बढी बीमा कम्पनीले पनि मर्जरका लागि एमओयु गरेका छन् ।

पछिल्लो समय नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरमा जान थालेपछि शेयर कारोबार पनि रोक्का हुन थालेका छन् । मर्जरमा जाने सम्झौता गरेसँगै ती कम्पनीहरूको शेयर कारोबार रोक्का गर्ने ब्यवस्था बमोजिम कारोबार रोक्का गरिएको हो ।

यतिबेला मर्जरका नाममा लामो समयसम्म कारोबार रोक्का हुन थालेपछि यसको आलोचना समेत हुन थालेको छ । मर्जर तथा एक्विजिशन सम्झौता गरेर लामो समयसम्म एकीकृत कारोबार नहुँदा लगानीकर्ताको सम्पत्ति बन्धक बनाएको आरोप समेत लाग्ने गरेको छ । जसले गर्दा लगानीकर्तालाई हैरान बनाएपछि नेपाल धितोपत्र बोर्ड (सेवोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को विरोध पनि हुन थालेको छ ।

यसको चर्काे आलोचना पछि धितोपत्र बोर्डले मर्जरमा जान सम्झौता गरेका कम्पनीको शेयर कारोबार खुला गर्ने गरि तयारी थालेको छ । हालसम्म ठोस निर्णयमा धितोपत्र बोर्ड नपुगेपनि कारोबार रोक्का गर्ने पक्षमा भने रहेका छैन् । कारोबार नरोकिने वा रोक्नै परे पनि निकै कम समयका लागि मात्रै हुने गरेर नीति बनाउने तयारी बोर्डले गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ लाई २०७५ मा संशोधन गर्दा मर्जर तथा प्राप्तिमा जाने वित्तीय संस्थाहरूले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि तिनको कारोबार रोक्का राख्नुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्थामा रहेर अहिले बैंक वित्तीय संस्थाको शेयर कारोबार रोक्का हुने गरेको छ । बैंकमात्र होइन, बीमा र जलविद्युत् कम्पनीहरूको समेत शेयर कारोबार रोक्का हुने गरेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मर्जर नियमावली संशोधन गर्नुपर्ने र राष्ट्र बैंकसँग पनि छलफल भइरहेको बताएका छन् । उनले कुनै पनि कम्पनी मर्जर तथा एक्विजिसनका नाममा शेयर कारोबार रोक्का नहुने बताएका थिए । उनले भने, ‘अहिले कम्पनीको मर्जरका नाममा महिनौं वा वर्षौंसम्म पनि शेयर कारोबार रोक्का भइरहेको छ, अब साउनदेखि कुनै पनि कम्पनीको शेयर कारोबार रोक्का हुँदैन । यसका लागि हामीले केही गृहकार्य गरिरहेका छौं ।’

कारोबार रोक्का गर्ने बारे राष्ट्र बैंकको विनियमावलीमा नै उल्लेख गरिएको छ । तर नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय क्षेत्र बाहेक अन्य समूहका कम्पनीका नियामक निकायहरुले यस्तो ब्यवस्था गरेको छैन् । राष्ट्र बैंकको उक्त ब्यवस्थालाई नै अन्य नियामक निकायले मान्दै आएका छन् । हालसम्म मर्जर तथा एक्वीशिजन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा मात्रै भएको छ । हाइड्रोपावर कम्पनीमा भने मर्जर छैन् । बीमा समितिले राष्ट्र बैंकमा भएको विनियमावलीका आधारमा नेप्सेलाई चिठ्ठी लेखेर कारोबार रोक्का गनै लगाउँछ ।

यदि कुनै कम्पनीको नियमनकारी निकाय नभएको अवस्था छ भने यसमा फुकुवा गर्ने अवस्था श्रृजना गर भनेर नेप्सेलाई निर्देशन जारी गरिसकेको धितोपत्र बोर्डका अध्यक्ष हमालले बताए ।

कारोबार फुकुवा गर्नेबारे राष्ट्र बैंकका गभर्नर र समग्र टिम पनि असाध्यै पोजेटिभ भएको हुनाले मर्जर एक्वीजिशनमा सहजता ल्याउने र कार्यान्वयनमा ल्याउने उनले बताए । साथै उनले मर्जर तथा एक्वीजिशनको नाममा विभिन्न क्षेत्रमा रहेको अन्यौलता हट्ने बताए । ‘गल्ति गर्नेलाई ठाउँको ठाउँमा कारवाही गर्नुपर्छ । तर एकजनाले गल्ति गर्याे भन्दैमा सय जनालाई कारवाही गर्नुहुँदैन् । मर्जर एक्वीजिशनमा सम्पूर्ण सेक्टरमा यस्तो अन्यौलता हुनुहुँदैन’ अध्यक्ष हमालले बताए ।


प्रतिक्रिया दिनुहोस्