सान्जेन जलविद्युतको आइपीओ बेच्नै सकस, २३ लाख कित्ता शेयर अझै बिक्री हुन बाँकी
काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा १३ करोड १८ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार मंगलबार (भदौ २८ गते) बिहान १०ः१५ बजेसम्म ७ हजार ४४३ जना आवेदकले १३ लाख १८ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन । हालसम्म परेको आवेदनलाई हेर्ने हो भने अझै २३ लाख कित्ता भन्दा बढी आइपीओ बिक्री हुन सकेको छैन ।
कम्पनीले भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो । कम्पनीको आईपीओमा अब असोज ४ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीआमा रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म माग गर्न सकिनेछ । नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सन्राइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।















