लगानीकर्ताको ९ संगठनले भन्यो,-‘पुँजी बजार विस्तारको कार्य तत्काल अघि बढाउनु, नत्र आन्दोलनमा उत्रिन्छौं’ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

लगानीकर्ताको ९ संगठनले भन्यो,-‘पुँजी बजार विस्तारको कार्य तत्काल अघि बढाउनु, नत्र आन्दोलनमा उत्रिन्छौं’



काठमाडौं । लगानीकर्ताका विभिन्न संगठनहरुले नेपाल धितोपत्र बोर्डविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सोमबार लगानीकर्ता संघका ९ वटा संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पुँजीबजार विस्तारका कार्य रोकिए कडा प्रतिवादसहित आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स प्रक्रिया लगायत पुँजी बजार विस्तारका कार्य रोकेकाले लगानीकर्ताहरुले यस्तो चेतावनी दिएका हुन् ।

‘नयाँ नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारका अन्य निकायहरुद्धारा चालिएका कदमहरुमा केही स्वार्थी समुहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा आम नेपाली लगानीकर्ताहरुको तर्फबाट फेरी सडकमा उत्रिन्छौं ।’ -लगानीकर्त संघको सयुक्त विज्ञप्तिमा भनिएको छ।

जारी विज्ञप्तिमा भनिएको छ,–‘नेपालको पुँजी बजारलाई आधुनिक हुनै नदिने र सिमित ब्यक्ति वा संस्थाको पकडमा मात्र राखिरहन खोज्ने संविधान र प्रतिस्पर्धा कानून विपरित प्रवृत्तिले ४० खर्ब भन्दा बढी पुँजीकरण पुगेको बजार आज २८ खर्बमा झरेको र लाखौं लगानीकर्तालाई पलायन हुन बाध्य पारेको अवस्था छ’ ।

हुनै लागेका सुधार र बिस्तारका काम रोकिए झन ठूलो क्षति नेपालको पुँजी बजारले भोग्नुपर्ने र बर्षौ पछाडि धकेलिने लगानीकर्ता संघले जनाएको छ । पुँजी बजार जस्तो संवेदनशील क्षेत्रलाई खेलाँचीको रुपमा नलिनई विगतमा भएका विभिन्न चरणका आन्दोलनमा राखिएका मागहरु तथा सुझावहरुका ५८ बुँदे सुझाव र १९ बुँदे सहमति तत्काल पूर्णरुपमा कार्यान्वयन गर्न बोर्डको ध्यानाकर्षण गराएका छन् ।

उक्त माग तथा सुझावहरु कार्यान्वयन गर्न कुनै बाधा विरोध सिर्जना नगरी आम सार्वधारण लगानीकर्ताको लगानी सुरक्षा गरि देशको अर्थतन्त्रलाई मेरुदण्डलाई मजबुत बनाई लगानीको वातावरण तयार गर्न सरकार र सम्वन्धित निकायसंग जोडदार माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्