खुलामुखी र बन्दमुखी सामूहिक लगानी कोषको फरक के हो ? नझुक्किनुस्, यस्ता छन् अन्तर « Arthapath.com
२२ कार्तिक २०७९, मंगलवार

खुलामुखी र बन्दमुखी सामूहिक लगानी कोषको फरक के हो ? नझुक्किनुस्, यस्ता छन् अन्तर



काठमाडौं । नेपालमा मूलतः सेयरको दोस्रो बजारमा भइरहेको तीव्र उतारचढावलाई नियन्त्रण गर्ने विकल्पहरूको खोजी गर्दा सामूहिक लगानी कोषलाई पनि एक मुख्य विकल्पको रूपमा पहिचान गरिएको थियो । यो एक दशक अघिको कुरा हो । त्यस बेला सेयर बजार अत्यन्तै उतारचढावमा रहेपछि धेरै लगानीकर्ताले उल्लेख्य सम्पत्ति गुमाउनु परिरहेको थियो । यस्तो अवस्थालाई केही नियन्त्रित गर्न बजार निर्माता, डिलरदेखि यस्ता सामूहिक लगानी कोषहरूको उपस्थिति हुनुपर्ने निर्क्योल भयो । यही सिलसिलामा नेपालमा सामूहिक लगानी कोषहरू सुरु भएका थिए । 

सुरुआत उद्देश्यमा भएका सामूहिक लगानी कोषहरू कतिसम्म सार्थक भए वा भएनन्, बहसको विषय हुनसक्छ । तर पछिल्ला दिनमा सामूहिक लगानी कोषमाथि लगानीको विविधीकरण गर्न नसकेको भनेर आलोचना सुरु भएको छ । देशलाई ठुला भौतिक पूर्वाधारमा लगानीको जोहो गर्न हम्मे परिरहेको छ । ठुलो लगानी उद्योग र कयौँ सेवा क्षेत्रमा पनि चाहिएको छ । यतातर्फ लगानी नगरी जनतासँग पैसा उठाएर या त सेयर किन्ने, या बैङ्कमा निक्षेप राखेर आफ्नै माउ कम्पनीको व्यापार बढाउन सघाउने परिपाटी अहिले यस्ता कोषहरूमा फस्टाएको छ । 

यही कारण विकासका पूर्वाधारहरूमा लगानी जुटाउन आह्वान हुन थालेको छ । तर हामीले बुझ्नु पर्ने कुरा के हो भने, अहिले धेरैजसो सामूहिक लगानी कोषहरू बन्दमुखी योजना हुन् । यो भनेको बैंकले मुद्दती निक्षेप राखेजस्तै हो । जति वर्षका लागि भनेर पैसा उठाइएको छ, त्यो अवधि पुरा भएपछि पुरै पैसा चुक्ता गर्नुपर्छ । तर नेपालको विकासको रफ्तार हेर्ने हो भने भनेको बेलामा कुनै पनि काम हुँदैन । जुनसुकै आयोजनाको लागत र समय कयौँ गुणा बढेको छ । 

यस्तो बेला पूर्वाधारमा लगानी गर्न खुलामुनि योजनाबाट पैसा उठाउनु पर्ने चर्चा हुन थालेको छ । यस्ता भौतिक पूर्वाधारमा लगानी नगरे पनि अहिले नै केही कम्पनीले यस्ता खुलामुनि योजनाहरू कार्यान्वयनमा ल्याइसकेका छन् । 

२०७६ जेठ तेस्रो साता पहिलो पटक नेपालमा खुलामुनि सामूहिक लगानी कोष योजना एनआईबीएल एस क्यापिटलले ल्याएको थियो । १ अर्वको यो योजनाले सुरुमा साढे १२ करोडको इकाई सर्वसाधारणलाई बेचेको थियो । त्यसपछि अन्य कम्पनीले पनि खुलामुनि योजना ल्याउन थालेका छन् । 

खुलामुनि र बन्धमुखी योजनाबारे जान्नुअघि हामीले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) भनेको नै राम्रोसँग बुझ्नु पर्ने हुन्छ । धेरै मान्छेबाट थोरै थोरै पैसा जम्मा पारेर लगानी गर्ने उपाय नै म्युचुअल फन्ड हो । यस्तो पैसा कुनै योग्य र दक्ष लगानी व्यवस्थापक (कम्पनी)ले विभिन्न क्षेत्रमा लगानी गर्छ । यसबाट एकातिर छरिएर रहेको पुँजीलाई एकत्रित गरेर अर्थतन्त्रको विस्तारमा लगानी गर्न पैसा जुट्छ । अर्कातिर लगानी बारे खासै थाहा नभएका सोझा सादा सर्वसाधारण मानिसले थोरै थोरै पैसा लगानी गरेर पनि बढी प्रतिफल लिन सक्छ । कुनै व्यक्तिगत जोखिम नउठाई आफ्नो सम्पत्ति बढाउन लगानीकर्तालाई सहज हुन्छ । 

अव कुरा गरौँ, यसका प्रकारको । सामान्यतया सामूहिक लगानी कोषहरू खुलामुनि र बन्धमुखी गरेर दुई प्रकारका हुन्छन् । नेपालमा धेरैजसो बन्धमुखी योजनाहरु मार्फत् पैसा उठाइएको छ । बन्धमुखी योजनामा निश्चित अवधिपछि पैसा फिर्ता दिने प्रतिबद्धता गरिएको हुन्छ । सामान्यतया ३ देखि १५ वर्षसम्मको अवधिपछि पैसा फिर्ता दिन्छु भनेर नै यस्ता योजनाहरू ल्याइएका हुन्छन् । 

पहिलो पटक विक्री भइसकेपछि यस्ता योजनाका एकाईहरु स्टक एक्सचेन्जमा सूचीकृत हुन्छन् र सेयरजस्तै कारोबार पनि हुन्छन् । यस्ता योजनाका इकाई किनबेच गर्नु पर्‍यो भने स्टक एक्सचेन्जको प्लेटफर्मबाट खरिद बिक्री गर्नु पर्छ । यस्ता एकाइको मूल्य निर्धारण पनि स्टक एक्सचेन्जमा हुने माग र आपूर्तिका आधारमा तय हुन्छ । तर खुलामुनि योजनामा यी कतिपय कुरा ठिक उल्टा हुन्छन् । 

बन्धमुखी योजनाहरूजस्तो खुलामुनि योजनाका एकाईहरु नेप्सेमा सूचिकृत भएर कारोबार हुँदैनन् । यस्तो योजनाहरू खरिद वा विक्री गर्नु पर्‍यो भने सम्बन्धित कोष व्यवस्थापकसँग नै किनबेच गर्न सकिन्छ । उदाहरणका लागि ‘एनआईबीएल सहभागिता फन्ड’को इकाई तपाईँसँग छ भने नेप्सेमा होइन, एनआईबीएल एस क्यापिटलमा गएर तपाईँले बेच्न सक्नु हुन्छ । किन्न चाहनेले पनि त्यहीँबाट किन्न सक्छ । 

यस्ता कोषहरूको परिपक्व हुने वा पैसा फिर्ता आउने निश्चित समय तोकिएको हुँदैन । कोष व्यवस्थापकले अनन्त कालसम्म पनि यस्ता योजनालाई तन्काउन सक्छन् । कोषको आकार एउटा विन्दुमा पुगेपछि यसलाई बन्द गर्न पनि सक्छन् । सबै खाले सामूहिक लगानी कोषले कति लाभ कमाए ? भनेर हेर्न ‘नेट एसेट भ्यालु (न्याभ)’ अर्थात् सम्पत्तिको खुद मूल्य मापन गर्ने तरिका हुन्छ । बन्धमुखी योजनाका लगानीकर्ताले आफूसँग भएको इकाई स्टक एक्सचेन्जमा चलेको मूल्यमा बेचेजस्तो खुलामुनि योजनाका इकाई धनीले बेच्नु पर्दैन । खुलामुनि एकाईहरु दैनिक रूपमा गणना हुने यही न्याभको आधारमा किनबेच हुन्छ । 

तर यस्ता एकाइहरू किनेको निश्चित समय नपुग्दै बेच्न खोजेका एकाई धनीले केही जरिवाना वा शुल्क भने तिर्नुपर्ने हुन सक्छ । कोष व्यवस्थापकले १२ महिना, २४ महिनाजस्ता निश्चित समय तोकेर यस खाले प्रावधान राखेका हुन्छन् । उक्त निर्धारित समय गुजारेपछि विक्री गर्दा कुनै शुल्क तिर्नु पर्दैन । 

एकाई धनीहरूलाई प्रतिफल लिने पनि विभिन्न विकल्पहरू दिइएको हुन्छ । ‘आफ्नो लगानी विस्तार गर्ने’ वा ‘प्रतिफल लिँदै जाने’ भनेर दुई खाले विकल्प लगानीकर्ता सामु छाडिएको हुन्छ । ‘ग्रोथ’ अर्थात् लगानी विस्तार गर्ने विकल्प छान्ने एकाई धनीले हरेक वर्ष प्रतिफल पाउँदैनन् । तिनले पाउनु पर्ने प्रतिफलको रकम कोष व्यवस्थापकले सोझै पुनः लगानी गरिदिन्छ । फलतः एकाइ धनीको स्वामित्वमा हुने एकाई बढ्दै जान्छ । 

यदि कसैले प्रतिफल लिने विकल्प छानेको छ भने उसले हरेक वर्ष पाकेको नगद प्रतिफल पाउँदै जान्छ । अर्को भाषामा भन्नुपर्दा ग्रोथ स्किम भनेको बोनस शेयर लिएजस्तो हो, डिभिडेण्ट स्किम भनेको नगद लाभांश लिएजस्तो हो । 

पछिल्लो समय सामूहिक लगानी कोषमा लगानी गर्न चाहने लगानकर्ताले यी दुई खाले योजनाबिचको फरक थाहा पाउन नसक्दा कोष व्यवस्थापकहरू समस्यामा छन् । सुरुदेखि नै बन्दमुखि योजना ल्याएर नेप्सेमा कारोबार गराउँदै आएकाले धेरै लगानीकर्ताहरू खुलामुखि योजना पनि नेप्सेमा कारोबार हुने ठान्छन् । यसले कतिपयलाई अप्ठेरो परेको छ । जसरी जीवन बीमा र निर्जीवन बीमा दुवै बीमा नै भए पनि व्यवसायको हिसाबले विल्कुल फरक छन्, त्यसरी नै खुलामुखि र बन्दमुखि सामूहिक लगानी योजनाहरू पनि भिन्न हुन्छन् । 

Tags :

प्रतिक्रिया दिनुहोस्