सुपर मादी हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
५ पुष २०७९, मंगलवार

सुपर मादी हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडलेको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आवेदन दिने आज (पुष ५ गते) अन्तिम दिन रहेको छ । मंसिर २० गतेदेखि निष्कासन गरेको आइपीओमा आयोजना प्रभावित स्थानीयले भने पुष २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारणमा कुल ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको छ । जसमध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो । आयोजना प्रभावित स्थानीयमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं। १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं। २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता छुट्याएको छ ।

कम्पनीले सर्वसाधारणलाई विक्री गरिने २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्रीमा ल्याएको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा गएका नेपालीहरूले रेमिट्यान्स बचत खाता मार्फत आईपीओ भर्न सक्नेछन् ।

विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले शेयर खरीदका लागि आवेदन न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्