सेयर कारोबारबाट वाणिज्य बैङ्कहरूलाई फाइदा: तीन महिनामा डेढ अर्ब आम्दानी, कसले कति कमाए ? « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

सेयर कारोबारबाट वाणिज्य बैङ्कहरूलाई फाइदा: तीन महिनामा डेढ अर्ब आम्दानी, कसले कति कमाए ?



काठमाडौं । वाणिज्य बैङ्कहरूले सेयर कारोबारबाटै तीन महिनामा करिब डेढ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । सञ्चालनमा रहेका वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

चालु आवको तीन महिनामा सेयर कारोबारबाट बैङ्कहरूले कुल १ अर्ब ४० करोड २१ लाख रुपैयाँ आम्दानी गरेका हुन् । जुन, आवको पहिलो त्रैमासको तुलनामा ७.७६ प्रतिशत अर्थात् १० करोड १० लाख रुपैयाँले बढी हो । गत आवको पहिलो त्रैमासमा पनि बैङ्कहरूले सेयर कारोबारबाट १ अर्ब ३० करोड १० लाख रुपैयाँ आम्दानी गरेका थिए । 

पछिल्लो समय सेयर बजारमा निकै उतारचढाव आइरहेको छ । बजार अस्थिर बन्दा बैङ्कहरूको यस्तो आम्दानीमा कमी आएको थियो । तर, चालु आवको पहिलो त्रैमासमा भने सुधारको सङ्केत देखिएको हो । बैङ्कहरूलाई नियामक निकाय नेपाल राष्ट्र बैङ्कले चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैङ्कहरूले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ ।

समीक्षा अवधिमा करिब एक दर्जन बैङ्कहरूको यस्तो आम्दानी घटेको छ । पहिलो त्रैमासमा सेयर बजार नै २३२ अङ्क बढीले घटेको छ । सो अवधिमा ६१ दिन कारोबार भएको थियो । सो अवधिमा २६ दिन बजारमा सकारात्मक बनेको थियो  तर, त्यसबाहेकका कारोबार दिन भने बजारमा गिरावट नै आएको थियो । यसरी बजार राताम्य बन्दा नै अधिकांश बैङ्कहरूको यस बापत हुने आम्दानी प्रभावित बनेको हो । 

चालु आवको तीन महिनामा सिटिजन र कृषि विकास बैङ्कको सेयर कारोबारबाट हुने आम्दानी ऋणात्मक देखिएको छ । यी बैङ्कहरूको आम्दानी क्रमशः ३५ लाख ३८ हजार र ३ करोड ५ लाख रुपैयाँ ऋणात्मक देखिएको हो । 

समीक्षा अवधिमा सेयर कारोबारबाट सबैभन्दा धेरै स्टण्डर्ड चार्टर्ड बैङ्कले गरेको छ । बैङ्कले १६  करोड ६८ लाख रुपैयाँ आम्दानी सेयर कारोबारबाट गरेको देखिएको छ । 

यस्तै, दोस्रो स्थानमा रहेको ग्लोबल आइएमईले १५ करोड ४० लाख र तेस्रो सूचीमा रहेको सानिमा बैङ्कले १५ करोड ४० लाख रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेका छन् । 

सेयर कारोबारबाट आम्दानी वृद्धिदरमा भने राष्ट्रिय वाणिज्य बैङ्क, प्रभु र कुमारी बैङ्क अघि देखिएका छन् । आरविविको यस्तो आम्दानी गत वर्षको प्रथम त्रैमासमा साढे १० गुणाले बढेर ९६ लाख रुपैयाँ पुर्‍याएको छ । 

यस्तै, समीक्षा अवधिमा प्रभु बैङ्कको यस्तो आम्दानी २६२ प्रतिशतले बढेर ८ करोड ४२ लाख र कुमारीको १२७ प्रतिशतले बढेर १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । 

चालु आवको तीन महिनामा सेयर कारोबारबाट नबिल बैङ्कले १२ करोड ९८ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ११ करोड ५० लाख, एभरेष्टले ७ करोड ६९ लाख, माछापुच्छ्रेले ६ करोड ८१ लाख, सिद्धार्थले ६ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेका छन् । 

यस्तै, एनएमबि बैङ्कले ५ करोड ८१ लाख, एनआइएसी एशियाले ४ करोड ३१ लाख, प्राइमले ३ करोड ३० लाख, लक्ष्मी सनराइजले ३ करोड १९ लाख र नेपाल बैङ्कले १ करोड २६ लाख रुपैयाँ आम्दानी सेयर कारोबारबाट गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्