के नेपाली सेयर बजार अपराधको जगमा खडा भएको हो ? « Arthapath.com
२३ बैशाख २०८१, आईतवार

के नेपाली सेयर बजार अपराधको जगमा खडा भएको हो ?



काठमाडौँ । वितेको एक महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढीमा २ हजार ३६ र थोरैमा १९६५ अंकका बीच देखिएको छ । गत मंगलबार २ हजार ६ अंकसम्म पुगेको सेयर बजार त्यसपछि पुनः ओरालो लागेको छ । पछिल्ला दुई दिनमा नेप्से ३२ अंक घटेर आइतबार १९७४ अंकमा झरेको छ ।

यसरी नेप्सेमा आएको कमीका पछाडी हालै संशोधन भएको कानूनलाई दोषि देखाउन थालिएको छ । संसदीय प्रक्रियामा १४ महिनासम्म अल्झेर गएको चैत ३० मै प्रमाणिकरण भइसकेको ऐनको विषयलाई अहिले आएर ‘सेयर बजार घट्नुको कारण’ भनिँदै छ ।

सरकारले ‘सम्पत्ती शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ लाई २७ माघ २०७९ मा संसदमा दर्ता गरेको थियो । उक्त विधेयकको सुरुआति व्यवस्था नै जस्ताको तस्तै पारित भयो । त्यसैमा राष्ट्रपतिको पनि लालमोहर लाग्यो ।

तर अचम्मको कुरा, नियामक नेपाल धितोपत्र बोर्डका अधिकारीहरु समेत उक्त विधेयक संसदमा पुगेको र पारित भएकोमा अनविज्ञ देखिन्छन् । १४ महिना संसदीय प्रक्रियामा अल्झेको दस्तावेजमाथि कसैको नजर परेन त ? यो गम्भीर प्रश्न नियामक निकायकै जिम्मेवार पदाधिकारीहरुतर्फ सोझिन्छ ।

उक्त विधेयक २०८० वैशाख १५ देखि असोज २५ सम्म ६ महिनाभन्दा बढी समय संसदीय समितिमा दफावार छलफल भएको देखिन्छ । ऐन संशोधनको खाका कोर्नेमात्रै होइन, दफावार छलफलमा पनि सरोकारवाला निकायहरुलाई बोलाइएको हुन्छ । उक्त विधेयकले १७ वटा ऐन र दुईटा संहिता (मुलुकी फौजदारी कार्यविधी संहिता र मुलुकी अपराध संहिता) एकसाथ संशोधन गरेको थियो ।

यस विधेयक प्रमाणिकरण भएसँगै अब सेयर कारोबारमा हुने अपराध (खासगरी इनसाइडर ट्रेडिङ) को अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीलाई सुम्पनी व्यवस्था भएको छ । यस्तो व्यवस्थाले केही ठूला लगानीकर्ता त्रसित हुन थालेको ब्रोकरहरु बताउँछन् ।

‘ऐन संशोधनको बेला कसैको पनि यस विषयमा ध्यान पुगेन । सबै जना सहकारीले कति निक्षेप राख्न पाउने र कति कारोबार गर्न पाउने भन्नेतिरै अलमलिए’, एक ब्रोकर भन्छन्, ‘अहिले ऐन आइसकेपछि त्यसमा मानिसहरुको ध्यान पुगेको छ ।’ उनले बजारमा साँच्चै गल्ति नभए पनि प्रहरीलाई अनुसन्धान सुम्पने कुराले लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव पारेको बताए ।

एक जना लगानीकर्ता भने धितोपत्र बजारको प्रत्येक्ष नियामकले बजारमा हुने गलत अभ्यासलाई रोक्न नसकेका कारण यस्तो कानून बनेको हुनसक्ने बताए ।

पछिल्लो एक महिनाको नेप्से परिसूचक :

‘सेबोनको इतिहासमा पहिलो पल्ट पोहोर साल थोरै मान्छेलाई इनसाइडर कारोबारमा अनुसन्धान भए पनि त्यसले गति लिन सकेको छैन’, ती लगानीकर्ताले भने, ‘अहिले पनि गुट बनाएर कुनै सेयरको भाउ उचाल्ने र थचार्ने चलन चलिरहेको छ । नियामक निकायका पदाधिकारीले वर्षौँदेखि यस्ता गलत अभ्यासलाई आँखा चिम्लेर अप्रत्येक्ष लाभ लिने परिपाटी बनेपछि अहिले यस्तो व्यवस्था भएको हुनसक्छ ।’

उनले बजारमा स्वच्छ कारोबार गर्ने लगानीकर्ताहरु कानून परिवर्तनबाट डराउनु नपर्ने बताए । ‘यो व्यवस्थाले २०–५० जनालाई केही असर गर्न सक्ला, अरु लगानीकर्ता त डराउनु पर्ने कारण म देख्दिन’ उनले भने ।

अर्का एक जना ब्रोकरको बुझाइमा चाहीँ यस्ता विषयहरुबाट बजार विचलित हुने हो भने नेपाली सेयर बजार ‘अपराधको जगमा खडा भएको’ सन्देस प्रवाह हुने बताउँछन् । ‘प्रहरीदेखि कोही पनि लगानीकर्ता डराउनु पर्ने कुनै कारण नै छैन’, उनी भन्छन्, ‘अहिले सेयर किनबेचमा अपनाइएको प्रविधिको प्रयोगले पारदर्शितालाई ठूलो सघाउ पुर्याएको छ । यसबाट कसले कुन बेला कुन सेयर कति किन्यो र कसरी भुक्तानी गर्यो भनेर सबै रेकर्ड हेर्न सकिन्छ ।’

उनले अहिले नै लगानीकर्ता तर्सिएर भाग्नु नपर्ने बताए । बरु यस कानूनको कार्यान्वयनको सन्दर्भमा भने सजग हुनुपर्ने उनी बताउँछन् । प्रहरीले केही व्यवसायीलाई अनुसन्धानको नाममा पक्राउ गर्ने र त्यसबाट व्यवसायीको सामाजिक शाखामा चोट पर्ने अवस्थाबाट ठूला लगानीकर्ता त्रसित भएको हुनसक्ने उनी बताउँछन् ।

यस्तो छ संशोधित ऐनको व्यवस्था :


प्रतिक्रिया दिनुहोस्