किन छ गोरु तिहारको महत्व ? यस्तो छ ऐतिहासिक प्रचलन « Arthapath.com
२८ कार्तिक २०८०, मंगलवार

किन छ गोरु तिहारको महत्व ? यस्तो छ ऐतिहासिक प्रचलन



काठमाडौं । आज गोरुको पुजा गरिने भएकाले आजको दिनलाई गोरु तिहार वा गाउँघरमा हलि तिहार पनि भन्ने चलन रहेको छ ।आज वर्षभरी हलो जोतेर अन्न उव्जनी गर्न सहयोग गर्ने गोरुलाई विशेष पूजा गरिन्छ । अहिलेको युगमा खेती पाती गर्नको लागि विभिन्न प्रविधिहरु आए ।

यी सामग्रीहरु आउनु भन्दा सदियौँ वर्ष अघि देखि गोरुले खाध्यन्न उव्जनी गर्न सहयोग गर्दथे । कुनै पनि विउ विजन रोप्नु भन्दा पहिले गोरुलाई जोतेर मात्र लगाउने गरिन्थ्यो । गोरुको यही परोपकार र सहयोगलाई सम्झेर आजको दिन गोरुको पुजा गर्ने गरिन्छ ।

प्राचिन समयमा आफ्नो विशेष धन नै गाइवस्तुलाई मानिन्थ्यो । त्यसबेला सबैले धेरै धेरै बस्तुभाउ पाल्ने गर्दथे । ती सबै वस्तुभाउको रक्षा गर्ने गोरु वा साँढे नै हुने गर्दथ्यो । त्यसकारण पनि गोरुलाई अरु जनावर भन्दा विशेष हेरचाह गरिन्थ्यो ।

वर्र्षको एक दिन गोरुलाई पनि मिठो मिठो घाँसहरु खान दिएर पूजा गर्नाले गोरु जोतेको पाप लाग्दैन भन्ने मान्यता रहेको छ ।
किनकी हिन्दुधर्म शासत्रहरुका अनुसार गोरु अर्थात् साँढेलाई धर्मको प्रतिक मान्ने गरिन्छ । आजको दिन गाइ र गोरु दुवैको पूजा गर्ने चलन पनि रहेको छ ।

त्यसैगरि आज द्वापर युगमा अवतरित हुनुभएका भगवान् श्रीकृष्णको संझना मा गोवद्र्धन पुजा पनि गरिन्छ । भगवान् श्रीकृष्णले अहंकारी इन्द्रको घमण्डलाई नाश गर्न व्रजमा गोवद्र्धन पुजाको थालनी गर्नुभएको थियो । त्यसबेला देखि हरेक वर्ष कार्तिक शुक्ल पक्षको पहिलो दिन अर्थात् प्रतिपदामा गोवद्र्धन भगवान्को पूजा गर्ने गरिन्छ ।

गाइको गोवरले पहाड बनाइ त्यस पहाडमा गोवद्र्धन रुपी श्रीकृष्णको पूजा ५६ प्रकारका परिकारहरु चढाएर गर्नु पर्दछ भन्ने शास्त्रिय मान्यताहरु रहेका छन् । गोवद्र्धन पुजा गर्दा दही, नौनी, आदि अनिवार्य रुपमा हुनुपर्दछ । श्रीमद् भागवत महापुराण, देवी भागवत, विष्णुपुराण लगायतका ग्रन्थहरुमा यस विषयको ठूलो चर्चा भएको पाइन्छ ।

आजको दिन नेवारी संप्रदायहरुमा म्ह पूजा गर्ने गरिन्छ । आफुमा रहेको इश्वरलाई चिन भनेर , आत्ममा रहेको भगवान् को पुजा गरिने कुरा नेवारी संप्रदायका वृद्ध व्यक्तिहरु बताउँछन् । आज देखि नै नेपालको मौलिक संवत् परिवर्तन हुने गर्दछ । आजबाट नेपाल संवत् ११४४ प्रारम्भ भएको छ । नेपालको मौलिक संवत मानिने यस संवत्को आज पहिलो दिन हुने भएकाले हरेक वर्ष कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि देखि नेपाल संवत् शुरु हुने गर्दछ र यस दिनलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्