सकियो दशैँ, आज देवी विसर्जन’ « Arthapath.com
३० आश्विन २०८१, बुधबार

सकियो दशैँ, आज देवी विसर्जन’



काठमाडौँ । आज कोजाग्रत पूर्णीमा अर्थात् दशैँको अन्तिम दिन । दशैँ सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ । यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ । यो साल कात्तिक १ गते पूर्णीमा परे पनि असोज ३० बाटै तिथि सुरु हुने भएकाले असोज मसान्तमै दशैँ सकिने भएको हो ।

दशैंको प्रतिपदाबाट आजको कोजाग्रत पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष भन्ने गरिन्छ । हिन्दु क्यालेन्डर अर्थात् पञ्चाङ्गले पितृपक्ष अर्थात् सोह्र श्राद्ध सकिए लगत्तै दुर्गापक्ष सुरु हुने उल्लेख गर्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ भन्ने सनातन मान्यता छ ।

प्रतिपदाको दिन घटस्थापनामा जम्मा गरेको माटो, जमरा र दुर्गाको विधीपूर्वक विसर्जन गरी नजिकको कुनै नदी वा जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमा नै हो । यस दिनलाई ‘देवी विसर्जन’ गर्ने दिनको रुपमा पनि मानिन्छ ।

सनातन धर्ममा देवदेवी स्थापना, पूजन र विसर्जन गर्ने प्रचलन छ । सृष्टि, स्थिति र संहारको यही चक्रलाई परिपालना गर्ने यो संस्कृति अन्य धर्ममा पाइन्न । देवी, गणेश लगायत परमात्माका अनेक रुपको यसैगरी प्रतिस्थापन, पूजन र विसर्जन गरिँदै आएको छ ।

यो सारा संसार र यहाँ भएका सबै जीव तथा पञ्चतत्व (आगो, पानी, हावा, पृथ्वी र आकाश) सबै उही परमेश्वरको हो । हामी मान्छे पनि उसैको र यहाँका चराचर जीव तथा वनस्पति पनि उसैको । त्यसैले हामी आफैँ देवी वा गणेशादि देवताको मूर्ति बनाउँछौँ, पूजा गर्छौँ र त्यसलाई विसर्जन पनि गर्छौँ । यो कुरा दार्शनिक रजनीश ओशोले निकै रोचक तरिकाले भनेका छन् ।

आज कोजाग्रत पूर्णिमाको रातमा सम्पन्नताकी देवी महालक्ष्मीले पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्छिन् भन्ने मान्यता पनि छ । यस्तो अवस्थामा जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिएर धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दछन् ।

आजैबाट विजयादशमीको टीको पनि सकिन्छ । नेपालका धेरै स्थानमा पूर्णीमाको दिनसम्मै दशैँको टीका लगाउने प्रचलन छ । कतिपय स्थानमा भने विजया दशमीको दिनबाहेक टीक लगाउने र थाप्ने गर्नु हुन्ने भन्ने मत पनि पाइन्छ । तर त्यस्तो मत निकै कम मान्छे र सीमित भूगोलको बासिन्दामा देखिन्छ ।

पूर्णिमाका दिन आकाशमा राती पूर्णचन्द्र उदाउने छन् र काठमाडौको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिनेछ । यो दिन तिहारको शुरुवात पनि हो । दुर्गापक्ष सकिएपछि तिहार लाग्छ । अब आउने औँशी नै लक्ष्मी पूजा गर्ने ‘गाईतिहारे’ औँशी हो । शक्तिको आरधना गरेपछि अब सम्पन्नताको आरधना गर्ने मौसम सुरु भएको छ ।

आजको कोजाग्रत पूर्णिमामा भने विहानै सम्पूर्ण परिवारका सदस्यहरु भेला भएर भवानीको प्रसादका रुपमा टीका र जमरा लगाउने चलन पनि कतै कतै छ । त्यसपछि जमरा सेलाउने चलन छ । कोजाग्रत पूर्णिमा पछि सुरिलो बाँसलाई काटेर त्यस्को टुप्पामा रंगीन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे बत्ति बाल्ने चलन पनि छ ।

यस तिथिलाई कार्तिक स्नान सुरु हुने दिनका रुपमा पनि लिइन्छ । तर कार्तिक स्थान कार्तिक १ मै पर्ने पूर्णीमाबाट सुरु हुन्छ ।

त्यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको तालबाराही मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । मनोरम फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने एवं दुःख दर्द नास हुने विश्वास गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्