अमेरिकालाई पछि पार्दै विश्वकै ठूलो अर्थतन्त्र बन्दै चीन « Arthapath.com
१२ पुष २०७७, आईतवार

अमेरिकालाई पछि पार्दै विश्वकै ठूलो अर्थतन्त्र बन्दै चीन



काठमाडौं । अमेरिकालाई पछि पार्दै चीन २०२८ मै विश्वकै ठूलो अर्थतन्त्र बन्ने भएको छ । यस अघि अनुमान गरिएभन्दा पाँच वर्ष अगाडि नै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने भएको हो ।

सापेक्षित रुपमा चीनले कोभिड–१९ को कुशल व्यवस्थापन गरेका कारण उसको अर्थतन्त्र अमेरिका र यूरोपको तुलनामा तीव्र गतिमा विकास हुने बेलायतस्थित सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्चले जनाएको छ ।
यसैगरी सन २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थव्यवस्था बन्नका लागि तयार भएको बताइएको छ।

कोभिड–१९ महामारी र आर्थिक आदान–प्रदानमा आएको गिरावटले अमेरिकाको सट्टा चीनलाई फाइदा पुगेको छ ।

महामारीप्रति चीनको चलाखीपूर्ण व्यवस्थापनले पश्चिमा मुलुकको तुलनामा चीनको आर्थिक भूमिकामा सुधार आएको सीईबीआरले जनाएको छ ।

सन् २०२१ देखि २०२५ को बीचमा चीनको अर्थतन्त्र वार्षिक औसत ५.७ प्रतिशतले बढ्ने क्रममा रहेको छ । सन् २०२६ देखि २०३० को बीचमा भने वार्षिक औसत वृद्धिदर सुस्ताएर ४।५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

सन् २०२१ मा अमेरिकी अर्थतन्त्र महामारीको प्रभावबाट उब्रिएर तीव्र दरमा बढेपछि सन् २०२२ देखि २०२४ को बीचमा औसत वार्षिक वृद्धिदर १।९ प्रतिशत रहने र त्यसपछिका वर्षहरुमा १.६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

विश्व अर्थतन्त्रमा चिनियाँ अर्थतन्त्रको हिस्सा २००० को ३.६ प्रतिशतबाट बढेर २०२० मा १७.८ प्रतिशत पुगेको छ । तर यो वर्ष चीनको जीडीपी २ प्रतिशतले वृद्धि भएको अवस्थामा अन्य ठूला अर्थतन्त्रहरुको भने ऋणात्मक हुने देखिन्छ ।

सन् २०३० को दशकको शुरुमा भारतले नउछिन्दासम्म जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा रहने र जर्मनी भने चौथौंबाट पाँचौं स्थानमा झर्ने बताइएको छ । अहिले पाँचौं ठूलो अर्थतन्त्रको रुपमा रहेको बेलायती अर्थतन्त्र सन् २०२४ देखि छैठौं स्थानमा सीमित बन्ने सीईबीआरले उल्लेख गरेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्