बढ्दै अनलाइन भुक्तानी, नेशनल पेमेन्टमा २९ वटा बैङ्क तथा वित्तीय संस्था आबद्ध « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

बढ्दै अनलाइन भुक्तानी, नेशनल पेमेन्टमा २९ वटा बैङ्क तथा वित्तीय संस्था आबद्ध



काठमाडौँ । नेशनल पेमेन्ट स्विचमा २९ बैङ्क तथा वित्तीय संस्था आबद्ध भएका छन् । नेपाल राष्ट्र बैङ्कले हालै नेशनल पेमेन्ट स्विच सञ्चालनको जिम्मेवारी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई दिएसँगै यसको प्रारम्भिक कार्यान्वयन सुरु गरिएको हो ।नेशनल पेमेन्ट स्विच कार्यान्वयनको पहिलो चरणमा विभिन्न २९ वटा बैङ्क तथा वित्तीय संस्था स्विचसँग आबद्ध भएका छन् । स्विचमा १८ वाणिज्य बैङ्क, ५ विकास बैङ्क र ६ वटा वित्त कम्पनीले एनसीएचएलसँग सम्झौता गरी स्विचसँग आबद्ध भएका छन् । 

नेशनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत कार्डबाहेक रिटेल कारोबारमा प्रयोग हुने बैङ्क खाता, इ–वालेट, क्युआर कोडमार्फत हुने भुक्तानीलाई समेटिएको छ । 

यसअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपाल–पे क्युआर तथा इन्टरनेटमार्फत हुने क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण, वालेट–वालेटबिच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर आबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू उपलब्ध हुने जनाइएको छ । उक्त स्विच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआइका मार्फत बैङ्क तथा वित्तीय संस्था र गैर बैङ्किङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसै गरी, दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्विच र नेपाल पेमेन्ट कार्ड कार्यान्वयनको निम्ति आवश्यक प्रक्रिया अघि बढाइएको एनसीएचएलले जानकारी दिएको छ । बिहीबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेशनल पेमेन्ट स्विचको कार्यान्वयनले सुरक्षित, सक्षम र सहज भुक्तानी प्रणाली विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । “बैङ्क तथा वित्तीय संस्थासँगै भुक्तानी कारोबारमा संलग्न अन्य संस्थाहरूबिच अन्तरबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र स्वस्थ बनाउने दिशामा पेमेन्ट स्विचको कार्यान्वयन एउटा महत्त्वपूर्ण उपलब्धि हो ।” गभर्नर अधिकारीले भने ।

उक्त कार्यक्रममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिले पेमेन्ट स्विचको कार्यान्वयनले भुक्तानी प्रणालीलाई थप सुरक्षित र सहज बनाएको बताएका छन् । कार्यक्रममा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले आगामी दिनमा थप बैङ्क तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थालाई समेत स्विचमा आबद्ध गरिने बताएका छन् ।कार्यक्रममा डेपुटी गभर्नर द्वय डा. निलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, राष्ट्र बैङ्कका उच्च अधिकारी, बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको  थियो ।


प्रतिक्रिया दिनुहोस्