सूचना प्रविधिमा फड्को मार्दै जाँदा सँगसँगै चुल्हिँदै छ अनलाइन ठगी « Arthapath.com
२ श्रावण २०८३, शनिबार

सूचना प्रविधिमा फड्को मार्दै जाँदा सँगसँगै चुल्हिँदै छ अनलाइन ठगी



काठमाडौं । नेपालको ब्याङ्किङ प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण हुँदै गर्दा प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरू बढ्न थालेका छन् । प्रविधिको पहुँच बढ्दै गएको भए पनि ब्याङ्किङ कारोबार अनि गोपनीयताबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी बढढेको अधिकारीहरु बताउँछन् ।

यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार नागरिकहरू पीडित हुने देखिएको छ । चिट्ठा परेको भन्दै सर्वसाधारणको गोप्य विवरण प्राप्त गर्ने र त्यसको दुरुपयोग गरेर सम्बन्धित व्यक्तिको खाताबाट रकम थुत्ने गरेका घटनाहरु हुने गरेका छन् । प्रहरीका अनुसार यस्ता ठगीका घटनाबारे उजुरी गर्नेको सङ्ख्या बढ्दो छ ।

तर प्रहरीले धेरैजसो घटनामा कहाँबाट र कसरी ठगी भइरहेको छ भन्ने अड्कलसम्म काट्न सक्दैन । प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार प्रत्येक महिना ७० देखि ८० वटा यस्ता ठगीका उजुरीहरू आउने गरेको बीबीसीले लेखेको छ ।

यस्ता ठगिका घटनाहरु अनलाइनमार्फत प्रलोभन देखाएर हुने गरेका छन् । कतिपय यस्ता ठगले त विद्युतीय माध्यमबाट पैसा चोर्ने मात्रै होइन, सम्बन्धित व्यक्तिको बैंक खाता नै दुरुपयोग गरिदिएका घटनाहरू समेत देखिएको प्रहरीले बताएको छ । आफ्नो खाता दुरुपयोग भइरहेको कुरा कतिपय मानिसहरूलाई अहिले पनि थाहै नभएको हुनसक्ने प्रहरी अधिकारीको भनाइ छ ।

ठगीको अर्को तरिका पनि छ । बीबीसीका अनुसार हालसालै प्रहरीकहाँ एउटा घटनाको उजुरी पर्यो । उक्त घटनामा पीडितको फेसबूकको म्यासेन्सजरमा जागिरको सूचना पठायो । त्यसमा क्यानडाको एउटा कम्पनीले महिनाको १ लाख ५० हजार रुपैयाँ तलब दिनेगरी कामदार खोजिरहेको सन्देश थियो ।

सन्देश प्राप्त गर्ने व्यक्तिलाई आफ्नै नाममा बैंक खाता खोल्न र खातामा पैसा जम्मा गर्न भनियो । आफ्नै नाममा खातामा पैसा जम्मा गर्न सोच्नुपर्ने कुरै रहेन । प्रक्रिया चल्दै जाँदा ती व्यक्तिले राम्रो कमाइको प्रलोभनमा पैसा जम्मा गरेको भौचर, नागरिकताको प्रतिलिपि, राहदानी र तस्बिर स्क्यान गरेर पठाइदिए ।

ती सबै विवरणका आधारमा ठगले पैसा जम्मा गर्ने व्यक्तिको नाममा रहेको सिमकार्ड दूरसञ्चार कम्पनीबाट निकाले । त्यसपछि सम्बन्धित बैंकको एपमा खाता नम्बर हाले र ओटीपी प्राप्त भएसँगै रकम निकाले । उक्त घटनामा प्रहरीले केहीलाई पक्राउ त गर्यो, तर यस्ता घटनाका पछाडि रहेका मुख्य पात्र भने फेला पर्न सकेनन् । यस्ता घटना बढ्न थालेपछि प्रहरीले सर्वसाधारणलाई आफैं सचेत हुन भनेको छ ।


प्रतिक्रिया दिनुहोस्