डिसहोमले अब १०० रुपैयाँमै सेयर बेच्ने, चुक्ता पुँजीको ३० प्रतिशत आईपिओ ल्याउने तयारी « Arthapath.com
१५ बैशाख २०८०, शुक्रबार

डिसहोमले अब १०० रुपैयाँमै सेयर बेच्ने, चुक्ता पुँजीको ३० प्रतिशत आईपिओ ल्याउने तयारी



काठमाडौं । डिसहोमले सर्वसाधारणमा जारी गर्ने तयारी गरेको सेयरको अनुपात बढाउने भएको छ ।

यसअघि कुल चुक्ता पुँजीको १० प्रतिशत स्वामित्वमात्रै सर्वसाधारणलाई बेच्ने गरी सार्वजनिक निष्काशन (आइपीओ)को प्रक्रिया अघि बढाएको डिसहोमले सेयर स्वामित्व पुनरसंरचना गर्ने भएको हो ।

अव कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशत स्वामित्व सर्वसाधारणमा विक्री गर्न लागिएको डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले अर्थपथलाई जानकारी दिए । ‘यसअघि हामीले बुकबिल्डिङ प्रणाली अनुसार प्रिमियम दरमा सेयर जारी गर्ने योजना थियो,’ उनले भने, ‘त्यसैले कम सेयर सर्वसाधारणमा जारी गर्ने भनिएको हो । तर अव प्रिमियम नजोडी प्रतिकित्ता १ सय रुपयाँमै सेयर बेच्ने तयारी भएकाले सर्वसाधारणको हिस्सेदारी बढाउन खोजिएको हो ।’

नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ सम्बन्धि व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न नसकेपछि कम्पनीहरु पुरानै स्थिति अनुरुप किताबी मूल्यमै सेयर निष्काशन गर्न थालेका छन् । यही कारण डिसहोमले पनि अब किताबी अंकित मूल्यमै सेयर निष्काशन गरेर जाने तयारी थालेको छ ।

डिसहोम नेपालमा ‘डाइरेक्ट टु होम–डीटीएच’ प्रणालीमार्फत् स्याटेलाइट टेलिभिजन सेवा प्रदायक संस्था हो । डिसहोम (टेलिभिजन) सँगै पछिल्लो समय यो कम्पनीले फाइबर इण्टरनेट सेवासमेत दिँदै आएको छ । डिसहोमको इन्टरनेट ब्यापार धेरै आक्रामक नभए पनि विस्तारै यसले गति लिगिरहेको छ ।

करीब १३ वर्षअघि स्थापित यो कम्पनीले दुई वर्षयता आईपिओ निष्काशन गर्ने योजना अघि सारेको थियो । त्यसै कारण २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशन गर्ने भनेर नेपाल धितोपत्र बोर्डमा निवेदन पनि दिइसकेको थियो । २०७७ असार ३० गते कम्पनीले बोर्डमा निवेदन दिएपछि त्यही वर्षको असोज १९ मा सेबोनले पनि आवस्यक कागजात हेरेर टिप्पणी उठाइसकेको थियो ।

तर त्यसयता बुकबिल्डिङको चक्करमा लाग्न थालेपछि कम्पनीको फाइल अहिले पनि त्यहाँबाट अघि बढ्न सकेको छैन । अब भने बुकबिल्डिङतिर नलागि आइपिओमा बेच्ने सेयरको परिमाण तीन गुणा बनाउने योजना कम्पनीले अघि सारेको छ । हालैमात्र कम्पनी सञ्चालक समितिले चुक्ता पुँजीको ३० प्रतिशत सेयर अंकित मूल्यमै विक्री गर्ने गरी आईपिओ निष्काशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

उक्त कम्पनीमा नेपाल उद्योय बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, प्रभू ग्रुपका अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद देवीप्रकाश भट्टचन, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र कम्पनीका सीईओ आचार्यसमेतको लगानी छ । कम्पनी स्रोतका अनुसार बुकबिल्डिङबाट सेयर निष्काशन गर्न पाएको भए प्रतिकित्ता कम्तिमा पनि ३ सय वा त्योभन्दा महँगोमा सेयर बेच्न सकिन्छ भन्ने प्रबद्र्धकहरुको बुझाइ थियो ।

तर पछिल्लो समय अवस्था फेरिएको छ । एकातिर सेयरको दोस्रो बजार करीब दुई वर्षदेखि ओरालो लागिरहेका कारण लगानीकर्ताको मनोबल घटेको छ । यस्तो समयमा बुकबिल्डिङमा लगानीकर्ता जान सहज नहुने देखिएको छ । अर्कातिर धितोपत्र बोर्डले नै पनि बुकबिल्डिङलाई केही समय मौन रुपमा स्थगित गरेजस्तो देखिन्छ ।

बुकबिल्डिङमा जान भन्दै सर्वोत्तम सिमेन्ट स्टक घुस दिएको आरोप लागेपछि सेबोनका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानाको जागिर गएको थियो । नेप्सेका तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि यही मुद्दामा राजिनामा दिनु परेको थियो । यो घटनाले पनि बुकबिल्डिङलाई स्वच्छ र पारदर्शि मूल्य निर्धारण हुने होइन, भ्रष्टाचार र ठगिको जोखिम बढाएको आम बुझाइ स्थापित हुन पुग्यो ।

यसरी बोर्डले नै बुकबिल्डिङलाई तामेलिमा राखेपछि कम्पनीहरु भटाभट यो प्रक्रियाबाट बाहिर निस्कन थालेका छन् । डिसहोम पनि यही लस्करमा सामेल देखिएको छ । त्यसो त, डिसहोमको आफ्नै व्यवसायमा पनि ठूलो धक्का पुगेको छ ।

सरकारले तीन वर्षअघि नै क्लिन फिड नीति लागू गरेपछि मूलतः भारतीय टेलिभिजन च्यानलमा विज्ञापन बज्न रोकियो । नेपाली मिडिया उद्यमीहरुले सोचेका थिए, भारतीय च्यानलमा विज्ञापन रोकिदिएपछि त्यो विज्ञापन नेपाली मिडियामा आउँछ । तर परिणाम उल्टो भइदियो । भारतीय विज्ञापन दाताले नेपाली सञ्चार माध्यमलाई विज्ञापन दिन आवस्यक ठानेनन् । उल्टै, डिसहोमजस्ता कम्पनीले ठूलो बजार गुमाउनु पर्यो ।

कतिपय भारतीय मनोरञ्जन च्यानलहरुमाथि नेपालमा प्रतिबन्ध लगाइएपछि त सीमावर्ती तराई क्षेत्रमा नेपाली टेलिभिजन हेर्न छाडेर भारतीय डीटीएच जडान हुन थाल्यो । पहाडिया सोचको संकीर्ण राष्ट्रबादको डोरीले धेरैलाई बाँध्न सकेन र डिसहोम एक्लैको बजार हिस्सा एकै झड्कामा करीब ३० प्रतिशत गुम्न पुग्यो ।

यसरी डीटीएच टेलिभिजनमा भविष्य नदेखेपछि देवी भट्टचनको प्रभू टीभीलाई समेत मर्जर गराएर बजारमा एकाधिरकार स्थापित गर्ने रणनीतिमा प्रबद्र्धकहरु पुगेका थिए । त्यसपछि उनीहरुले फाइबर इण्टरनेट पनि सुरु गरे । अब सर्वसाधारणमा सेयर निष्काशन गरेर अलिअलि लगानी पनि उठाउने र ग्राहकलाई नै सेयर बाँडेर अपनत्व जागृत गर्ने दोस्रो रणनीतिमा कम्पनी देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्