पोखरामा ‘नाइट लाइफ’ खुल्यो, जाने हैन त मस्ती गर्न ? « Arthapath.com
४ चैत्र २०८०, आईतवार

पोखरामा ‘नाइट लाइफ’ खुल्यो, जाने हैन त मस्ती गर्न ?



काठमाडौं । सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै अब त्यहाँ रात्रीकालिन बजार पनि थप व्यवस्थित हुने भएको छ । आइतबारदेखि नै पोखरामा रातभर बजार खोल्न पाइने व्यवस्था लागू हुन लागेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै साँझदेखि पोखराका डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने बताएका छन् । निश्चित मापदण्ड बनाएर यस प्रकारले व्यवसाय सञ्चालन गर्न दिन लागिएको उनले बताए ।

त्यस्तै बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म सञ्चालन हुने मुख्यमन्त्री पाण्डेले जनाएका छन् । उनले पोखराको लेकसाइड इलाका, पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुंगामा यस्ता पसलहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

आगामी दिनमा राउण्ड फेवा, भ्यू फेवाजस्ता ट्रेकिङ बाटोहरु सञ्चालन गर्ने, बेगनास तालमा क्रुज सिप चलाउने, आधुनिक टर्मिनलसहितको पोखरा बसपार्क निर्माण गर्ने, ठूलो आकारको एक ध्यान केन्द्र स्थापना र सञ्चालनगर्नेजस्ता कयौं घोषणा प्रदेश सरकारले गरेको छ ।

पोखरामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको पनि मुख्यमन्त्री पाण्डेले जनाएका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताएका छन् । यसले पोखरामा थप पर्यटकीय पुर्वाधार विकास हुने अपेक्षा राखिएको गण्डकी सरकारले जनाएको छ ।

आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका थिए । विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको बताइएको छ ।

यसले शहरहरुको विस्तार र योजना तर्जुमा तथा प्राथमिकिकरणलाई समेत सघाउ पुग्ने जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्