नेपालमा विदेशी पर्यटक आगमन बाक्लिदै, एकै महिनामै ३२.४३ प्रतिशत बढे, कहाँ बाट कति आए ?
काठमाडौं । नेपाल घुम्न आउने विदेशीको संख्या बढ्न थालेको छ । एक महिनामै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या ३२.४३ प्रतिशत वृद्धि भएको छ ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको सन् २०२४ को सेप्टेम्बरको तथ्याङ्कले यस्तो देखाएको हो । सेप्टेम्बर महिनामा कुल ९६ हजार ३०५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो अघिल्लो महिना अगष्टको तुलनामा ३२.४३ प्रतिशत अर्थात् २३ हजार ५८६ बढी हो ।
अघिल्लो महिनामा भने ७२ हजार ७१९ जना विदेशीले नेपाल भ्रमण गरेका थिए । गत वर्षको सेप्टेम्बरको तुलनामा भने ५.८ प्रतिशत बढी नेपाल भित्रिएका छन् । गत वर्षको समिक्षा महिनामा कुल ९१ हजार १२ जना विदेशीले नेपाल भ्रमण गरेका थिए ।
अप्रिलदेखि सेप्टेम्बर महिनालाई पर्यटक आगमनको अफसिजन मानिन्छ । तर, अफ सिजनमै पनि मासिक १ लाख हाराहारीम विदेशीहरु नेपाल भ्रमणमा आउनु एकदमै सकरात्मक रहेको बोर्डले जनाएको छ ।
नेपालमा विदेशी पर्यटक आगमनको मुख्य सिजन अक्टोबर महिनादेखि मार्चसम्मलाई मानिन्छ । अन्य महिनाको तुलनामा सो अवधिमा अत्याधिक पर्यटक आउने गरेका छन् । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा भने कुल ८ लाख १६ हजार ६३७ जना विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।
बोर्डका अनुसार नेपालमा मासिक औसत ९० हजार ७३७ जना विदेशी पर्यटक नेपाल आउने गरेका छन् । सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७ र अप्रिलमा १ लाख ११ हजार ३७६ जना नेपाल भित्रिएका थिए । यस्तै, मे महिनामा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाईमा ६४हजार ५९९ जना नेपाल भ्रमणका आएका थिए ।
गत सेप्टेम्बरमा पनि भारतीय पर्यटकको आगमन नै सर्वाधिक छ । सो महिनामा भारतबाट २२ हजार ९८४ जना नेपाल घुम्न आएका छन् । तर, गत अगष्टमा भने २५ हजार ८३२ जना आएका थिए ।
यस्तै, संयुक्त राज्य अमेरिकाबाट पनि सेप्टेम्बरमा १० हजार ८४ जना, चीनबाट ८ हजार ४२, अष्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३ र बंगलादेशबाट ४ हजार १०३ जना पर्यटक आएका थिए ।
यता, जर्मनीबाट २ हजार ७०४, दक्षिण कोरियाबाट २ हजार ३५१, मलेशियाबाट २ हजार २८० जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।