सिजन सुरू भएसँगै पर्यटक आगमनमा बढोत्तरी, एकै महिना नेपाल आए १ लाख २४ हजार बढी विदेशी
काठमाडौं । १० महिनामा सवा ८ बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको सन् २०२४ को जनवरीदेखि अक्टोबर महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
यो गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा ६.०४ प्रतिशत बढी हो । गत वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ९ हजार ६७८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यो वर्षको अक्टोबरमा सात महिना यताकै धेरै पर्यटक नेपाल घुम्न आएका छन् । अक्टोबरमा १ लाख २४ हजार ३९३ जना विदेशी नेपाल घुम्न आएका हुन् । गत सेप्टेम्बरको तुलनामा भने यो २९.१६ प्रतिशत धेरै हो । सेप्टेम्बरमा ९६ हजार ३०५ जना विदेशी पर्यटन आएका थिए ।
नेपालमा विदेशी पर्यटक आगमनको मुख्य सिजन अक्टोबर महिनादेखि मार्चसम्मलाई मानिन्छ । अन्य महिनाको तुलनामा सो अवधिमा अत्याधिक पर्यटक आउने गरेका छन् । मुख्य सिजन भएकाले नै पर्यटक आगमन वृद्धि भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार पर्यटक आगमनको अफसिजन अप्रिलदेखि सेप्टेम्बर महिनालाई भनिन्छ । यद्यपि, ती महिनामा पनि औसतमा राम्रै पर्यटक आएको तथ्याङ्कले देखाउँछ ।
बोर्डका अनुसार सन् २०२४ को पहिलो महिना अर्थात् जनवरीमा ७९ हजार १०० जना, फेब्रुअरीमा ९७ हजार ४२६ जना र मार्चमा १ लाख २८ हजार १६७ जना विदेशी नेपाल भ्रमणमा आएका थिए । यस्तै, अप्रिलमा १ लाख ११ हजार ३७६, मे महिनामा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाई ६४ हजार ५९९ र अगष्ट महिनामा ७२ हजार ७२७ जना पर्यटक आएका थिए ।
बोर्डका अनुसार अक्टोबरमा सबैभन्दा धेरै भारतबाट नै आएका छन् । एक महिनामा भारतबाट १६ हजार ३१३ जना पर्यटक आएका छन् । यो कुल आगमनको १३.११ प्रतिशत हो ।
यस्तै, संयुक्त राज्य अमेरिकाबाट पनि १६ हजार २३ जना, बेलायतबाट ८ हजार १९, चिनबाट ७ हजार ७५०, अष्ट्रेलियाबाट ६ हजार ९२९, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट ५ हजार ४८५, बंगलादेशबाट ४ हजार ४७६, श्रीलंका ३ हजार १२५ र इटलीबाटम २ हजार ६३५ जना पर्यटक आएका छन् ।