होटेलहरुको व्यापार बढेपनि नाफा किन देखियो संकुचन ?
नाफा र व्यापारमा सोल्टीको छलाङ, सीटी होटल र कालिञ्चोकले व्यहोरे घाटा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेलहरुको व्यापारमा बढोत्तरी देखिएता पनि नाफामा भने संकुचन आएको छ । होटेलहरुको नाफा १३ प्रतिशत घटेको देखिन्छ । हाल नेप्सेमा ६ वटा होटलहरुको सूचीकृत छन् ।
हाल नेप्सेमा होटेल तथा पर्यटन समूहका सोल्टी, तारागाँउ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक दर्शन र सिटी होटेल कम्पनी सूचीकृत छन् ।
चालु आर्थिक वर्षको तीन महिनामा यी होटेलहरुले कुल १२ करोड ७७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएका छन् । तर, यो गत आवको सोही अवधिको तुलनामा भने १२.९९ प्रतिशत कमी हो । गत आवको पहिलो तीन महिनामा होटेलहरुको नाफा १४ करोड ६८ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
तर, व्यापार भने बढोत्तरी देखिएको छ । होटेलहरुको व्यापार ५.०८ प्रतिशत बढेर १ अर्ब ३१ करोड ४ लाख रुपैयाँ पुगेको छ । सूचीकृत ६ होटलहरुले गत आवको पहिलो त्रैमासमा भने १ अर्ब २४ करोड ७९ लाख बराबरको व्यापार गरेका थिए ।
समग्रमा बाह्य र आन्तरिक पर्यटक आगमन बढेसँगै होटेलहरुको व्यापार बढेको हो । तर, पनि व्यापार बढेता पनि नाफा भने बढ्न सकेको छैन् । होटेलहरुले नयाँ सुविधा थप गर्न संरचना सुधारमा लगानी बढाउँदा नाफा दबाब परेको होटेल संचालकहरु बताउँछन् ।
यस्तै, प्राकृतिक प्रकोपका कारण पनि नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा केही गिरावट आएकाले पनि व्यापार तथा नाफामा असर गरेको उनीहरुको भनाई छ । यद्यपि, विदेशी पर्यटकको आगमन वृद्धिले आउँदा दिनमा व्यापारसँगै नाफा पनि बढ्ने अपेक्षा छ । होटलले सेवाहरुको गुणस्तर तथा संरचनाहरुको सुधार तथा स्तारोन्नतिले स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई आगामी दिनमा थप आर्कषण बढाउने बताइएको छ । यसले आगामी दिन आम्दानीमा व्यापार सुधार आउने उनीहरुको अपेक्षा छ ।
समिक्षा अवधिमा चार वटा होटल नाफामा छन् भने दुई वटाले नोक्सानी व्यहोरेका छन् । पहिलो त्रैमासमा सिटी होटेलले ५ करोड ६२ लाख ७७ हजार र कालिञ्चोक दर्शन ८५ लाख रुपैयाँ नोक्सानीमा छ । समिक्षा अवधिमा कालिञ्चोकको व्यापार ९५.०७ प्रतिशत घटेर ४० लाख रुपैयाँ कायम भएको । यता, सिटीले भने ११ करोड २ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, यो गत आवको पहिलो त्रैमासको तुलनामा ४.९४ प्रतिशत कमी हो ।सीटीले नोक्सानी भने घटाएको छ ।गत आवमा ६ करोड बढी नोक्सानीमा थियो ।
नाफा र व्यापारमा सोल्टी होटल नै अगाडि देखिएको छ । सोल्टीले तीन महिनामै १२ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा १८.३४ प्रतिशत बढी हो । सोल्टीको व्यापार पनि २८.६९ प्रतिशत बढेको छ । तीन महिनामै ५१ करोड ४३ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यस्तै, समिक्षा अवधिमा तारागाउँको नाफा पनि ३.५२ प्रतिशत बढेर ४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । नाफा र व्यापारमा तारागाउँ दोस्रो पोजिशनमा देखिएको छ । यसको व्यापार १८.५ प्रतिशत बढेर २७ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
यता, ५ प्रतिशत व्यापार घटेको चन्द्रागिरी हिल्सले भने नाफा साढे १९ प्रतिशत बढाएको छ । असोज मसान्तसम्ममा कम्पनीले १९ करोड ५८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, ५ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।
समिक्षा अवधिमा २१ करोड ७ लाख रुपैयाँ बराबरको व्यापार गरेको ओरियण्टल होटलको नाफा भने ३ लाखमा झरेको छ । गत आवको पहिलो त्रैमासमा यस होटलले १ करोड २७ लाख ररुपैयाँ नाफा कमाएको थियो भने २० करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।