विदेशी पर्यटक आगमन १५ प्रतिशत बढ्यो : ११ महिनामा नेपाल भित्रिए साढे १० लाख, कहाँबाट कति आए ?
काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दो नै छ ।
सन् २०२४ को ११ महिनामा साढे १० लाख बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो समय विभिन्न मुलुकहरुबाट नेपाल घुम्न आउने पर्यटकहरुको संख्या निरन्तर बढी रहेको छ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । नेपालमा भारतीय पर्यटकहरू सीमा क्षेत्र अर्थात् सडक (सवारी साधन) मार्फत पनि आउने गर्छन् । तर, बोर्डले हवाई मार्गबाट नेपाल भित्रिएने विदेशी पर्यटक राख्ने गरेको छ ।
सो अवधिमा १० लाख ५५ हजार ५३१ जना विदेशी पर्यटक नेपाल भ्रमण आएका हुन् । यो गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा भने १४.९४ प्रतिशत बढी हो । गत वर्षको सो अवधिमा ९ लाख १८ हजार ३०८ जना आएका थिए । गत नोभेम्बर महिनामा मात्रै विभिन्न देशबाट कुल १ लाख १४ हजार ५०१ जना पर्यटक नेपाल आएका छन् । यो गत वर्षको सोही महिनाको तुलनामा भने यो ५.४० प्रतिशत बढी हो । गत वर्षको सो महिनामा १ लाख ८ हजार ६३० जना पर्यटक आएको थिए ।
बोर्डका अनुसार अहिले पर्यटक आगमनको सिजन चलिरहेको छ । नेपालमा विदेशी पर्यटक आगमनको मुख्य सिजन अक्टोबरदेखि मार्च महिनासम्मलाई मानिन्छ । सो अवधिमा अन्य महिनाको तुलनामा अत्याधिक पर्यटक आउने गरेका छन् । अर्को तर्फ सरकारले पनि पर्यटन प्रवद्र्धनलाई बढ्वा दिँदै आएको छ । विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न अभियान पनि थालिएको छ, यस्ता कारण पनि नेपाल भित्रने पर्यटक बढ्न थालेका हुन् ।
बोर्डका अनुसार सन् २०२४ को पहिलो महिना अर्थात् जनवरीमा ७९ हजार १०० जना, फेब्रुअरीमा ९७ हजार ४२६ जना र मार्चमा १ लाख २८ हजार १६७ जना विदेशी नेपाल भ्रमणमा आएका थिए ।
यस्तै, अप्रिलमा १ लाख ११ हजार ३७६, मे महिनामा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाई ६४ हजार ५९९ र अगष्ट महिनामा ७२ हजार ७२७, सेष्टेम्बरमा ९६ हजार ३०५ र अक्टोबरमा १ लाख २४ हजार ३९३ जना पर्यटक आएका थिए ।
नोभेम्बरमा कुन देशबाट कति पर्यटक नेपाल आए ?
बोर्डका अनुसार नेपाल भ्रमण गर्ने ठुलो संख्या छिमेकी मुलुक भारतको छ । नोभेम्बरमा आएका कुल विदेशी पर्यटक मध्ये भारतीयको हिस्सा १७.४ प्रतिशत छ ।
एकै महिना भारतबाट १९ हजार ९१५ जना पयर्टक नेपाल भ्रमणमा आएका छन् । यद्यपि, यो गत वर्षको नोभेम्बरको तुलनामा १८.५ प्रतिशत कमी हो । हाल भारतबाट पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, पोखरा लगायतका धार्मिक स्थलको दर्शनको लागि नेपाल आउने गरेको पाइन्छ ।
यस्तै, अमेरिकाबाट पनि १० हजार ९८१ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ९.६ प्रतिशत हुन आउँछ । बोर्डका अनुसार चीनबाट ९ हजार ४५८ जना, बेलायतबाटम ६ हजार ६११ जना, बंगलादेशबाट ५ हजार १४८ जना, अष्ट्रेलियाबाट ४ हजार ८२९ जना, थाइल्याण्डबाट ४ हजार ४६२ जना, श्रीलंकाबाट ४ हजार ३९५, जर्मनीबाट ३ हजार ९२६ जना र फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल भ्रमणका आएका छन् ।
बोर्डका अनुसार भारतसहित मेलेशिया, म्यानमार, पाकिस्तान, अष्ट्रेलिया, अमेरिका लगायतका केही देशबाट नेपाल घुम्न आउने पर्यटकको संख्या घटेको देखिन्छ । यी बाहेका मुलुकका पर्यटक भने वृद्धि भएको बोर्डले जनाएको छ ।