नेपाली पर्यटन बजारमा ‘बाउन्स ब्याक’ : सुखद नै रह्यो ‘२०२४’, कहाँ–कहाँबाट कति आए विदेशी ? « Arthapath.com
१८ पुष २०८१, बिहीबार

नेपाली पर्यटन बजारमा ‘बाउन्स ब्याक’ : सुखद नै रह्यो ‘२०२४’, कहाँ–कहाँबाट कति आए विदेशी ?



काठमाडौं । नेपाली पर्यटन बजार विस्तारै लयमा फर्किँदै छ । कोरोना महामारीका कारण निकै नै प्रभावित बनेको थियो ।

विशेषगरि २०१९ को अन्त्यबाट विश्वभर नै कोरोना महामारीको संक्रमण फैलिँदा पर्यटन बजार पनि थला परेको अवस्था थियो ।

कोरोना संक्रमण नियन्त्रण गर्न नेपालसहित विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । नेपाल लगायतका विदेशी मुलुकहरुले पनि आफ्ना नागरिकलाई विदेश भ्रमण रोक लगाएका थिए ।

सन् २०२० भन्दा अघिसम्म भने विदेशी पर्यटकको नेपाल आगमन निकै उत्साहजनक थियो । तर, सन् २०२०, २०२१ र २०२२ सम्म विदेशी पर्यटक आगमन ज्यादै न्यून थियो ।

कोरोना महामारीकै कारण सन् २०२१ मा कुल ४९ हजार ८३३ जना मात्रै विदेशी पर्यटक नेपाल भ्रमणका आएको नेपाल पर्यटन बोर्डको आँकडा छ । सन् २०१९ मा भने कुल ११ लाख ९७ हजार १९१ जना पर्यटक आएका थिए ।

सन् २०२० मा भने २ लाख ३० हजार ८५ जनामा समिति भएको थियो । बोर्डका अनुसार अघिल्लो वर्ष सन् २०२२ मा पनि ६ लाख १४ हजार १४८ जना पर्यटक आएका थिए । त्यसपछिका वर्षहरु भने विदेशी पर्यटक आगमन सकरात्मक रुपमा बढ्दै गएको देखिन्छ । कोरोना महामारीपछिको नेपाली पर्यटनमा ९५.८५ प्रतिशत बाउन्स ब्याक भएको छ । एकैवर्ष साढे ११ लाख पर्यटक नेपाल भ्रमण आएका छन् ।

बोर्डका अनुसार सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ जना विदेशी पर्यटकले नेपाल घुमेका छन् । यो गत वर्ष सन् २०२३ को तुलनामा भने १३.०७ प्रतिशत बढी हो । गत वर्ष पनि १० लाख १४ हजार ८७६ जना पर्यटक आएका थिए ।

सन् २०२४ विदेशी पर्यटक आगमन सुखद रहेको बोर्डले जनाएको छ । शिथिल नेपाली पर्यटन क्षेत्रले विस्तारै लय समाएको बोर्डको भनाई छ । विशेषगरि पर्यटक आगमनलाई बढाउन गरि बजारीकरणलाई तिव्रता दिइएको कारण पनि व्यापक बढोत्तरी देखिएको बोर्डले जनाएको छ । नेपालमा पहिलो पटक आयोजित ‘नेपाल प्रिमियर लिग’ (एनपीएली, बुद्धिष्ट सम्मेलन, अन्तर्राष्ट्रिय बेलुन फेष्टिबल, चिनियाँ ड्रागन फेस्टिबल लगायतका पर्यटन मेला तथा प्रदर्शनीले उल्लेख्य योगदान गरेको बोर्डले जनाएको छ ।

कुन महिना कति आए ?

पछिल्लो समय नेपालमा मासिक औसतमा ९५ हजार ६३० हाराहारीमा पर्यटक आउने गरेका छन् । गत डिसेम्बरमा भने ९२ हजार ३६ जना मात्रै विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार गत नोभेम्बरमा १ लाख १४ हजार ५०१ जना आएको थियो । सन् २०२४ मा सबैभन्दा धेरै मार्च महिना आएको थिए । सो महिना १ लाख २८ हजार १६७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबरमा १ लाख २४ हजार ३९३ जना, अप्रिलमा १ लाख ११ हजार ३७६ जना भएको थिए । यस बाहेकका महिनामा भने एक लाख भन्दा कम दरमा नेपाल भित्रिएका छन् ।

नेपालमा पर्यटक आगमनको मुख्य सिजन भने अक्टोबरदेखि मार्च महिनामा मानिन्छ । सो अवधिमा अन्य महिनाभन्दा बढी पर्यटक आउने गरेका छन् । बोर्डका अनुसार सन् २०२४ को जनवरीमा७९ हजार १००, फेब्रुअरिमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगष्टमा ७२ हजार ७१७ र गत डिसेम्बरमा ९२ हजार ३६ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

चिनिया पर्यटक आगमन बढ्दो, सबैभन्दा धेरै भारतीबाट आए, कुन देशबाट कति आए ?

नेपालमा आउने कुल विदेशी पर्यटक मध्ये झन्डै २८ प्रतिशत भारतीय नागरिक छन् । त्यसबाहेक अमेरिका र चीनबाट ठुलो संख्या नेपाल घुम्न आउने गरेको बोर्डले जनाएको छ ।

गत वर्ष मात्रै कुल ३ लाख ७ हजार ७७२ जना भारतीय पर्यटक नेपाल भ्रमणमा आएको छन् । यो कुल आगमनको २७.६९ प्रतिशत हुन आउँछ । विशेषगरि भारतबाट पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, पोखरा लगायतका विभिन्न चर्चित धार्मिक स्थलको दर्शनका लागि नेपाल आउने गरेका छन् । गत वर्षको तुलनामा भारतीय पर्यटक केही घटेको देखिन्छ । गत वर्ष पनि ३ लाख १९ हजार बढी भारतीय पर्यटक नेपाल घुम्न आएका थिए ।

भारतपछि अमेरिकाबाट धेरै आउने गरेका छन् । गत वर्ष अमेरिकाबाट १ लाख ११ हजार ८७९ जना आएको छन् । अमेरिकन पर्यटक भने १०.८ प्रतिशत वृद्धि भएको देखिन्छ ।

यता, चिनियाँ पर्यटक आगमन पनि ह्वात्तै बढेका छन् । एकै वर्ष ६७.३ प्रतिशत वृद्धि भई १ लाख १ हजार ८७९ जना पुगेको छन् । गत वर्ष भने चीनबाट ६० हजार ८७८ जना मात्रै पर्यटक नेपाल घुम्न आएका थिए ।

बार्डका अनुसार एकै वर्ष बलायतबाट ५७ हजार ५५४ जना, बंगलादेशबाट ४८ हजार ८४८ जना, अष्ट्रेलियाबाट ४३ हजार ९८० जना, थाइल्याण्डबाट ३० हजार ७४५ जना, श्रीलंकाबाट ३० हजार २२६ जना, जर्मनीबाट २९ हजार ८०१ र दक्षिण कोरियाबाट २७ हजार ७१ जना पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार भारतीय, पाकिस्तान, म्यानमार, डेकमार्कबाट आउने पर्यटकको संख्या घटेको छ । यी बाहेका अन्य मुलुकबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा भने बढ्दो देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्