मुन्दुम भ्रमण वषर्मका निम्ति पदमार्ग कति महत्वपूर्ण ? मन्त्री भन्छन्– प्रचुर संभावना बोकेको छ’

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त संभावना बोकेको बताएका छन् । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
मुन्धुम पदमार्ग कोशी प्रदेशको पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको आफूले पाएको उनको भनाइ छ । ‘यो पदमार्गले किराँती र मुन्दुम संस्कृतिको संरक्षण, सम्वर्धन एवम् प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘यो पदमार्गको बीचमा थुप्रै पर्यटकीय र किराँती संस्कृतिसँग जोडिएका स्थान छन्। यसले पदमार्गको महत्त्व अझ बढाएको छ।’
झन्डै एक सय किलोमिटर दुरीको यो पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती छन्। ‘मुन्दुम’मा उल्लेखित किराँती जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएका स्थान भएकाले यो पदमार्गको नाम ‘मुन्दुम’ राखिएको हो । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले बताए ।
भोजपुर र खोटाङ्गको सीमानामा पर्ने तीन हजार १६५ मिटरको टेम्केडाँडा क्षेत्रबाट शुरु हुने यस पदमार्ग ३ हजार ३५० मिटरको मैयुङ डाँडा, चार हजार १५५ मिटरको सिलिचुङ डाँडाहुँदै ३ हजार ७५० मिटरको साल्पा पोखरीसम्म पुग्छ। मौसम सफा भएको बेला पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, लगायतका ८००० मिटरभन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ।
फरक प्रसंगमा पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि हवाइ क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेको बताए । अहिले नेपालको आवश्यकता अनुसार जहाजहरू नभएकाले जहाजको संख्या थप गर्न र बन्द रहेका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन आफूले प्रयास गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला सभापति विनोद वान्तवाले मुन्धुम पदमार्ग भ्रमण वर्षको कार्यक्रमले पदमार्गको प्रचारप्रसारमा उल्लेख्य योगदान गर्ने बताए ।